logo

२०८३ कार्तिक १३ बिहिबार

मानव सेवाबाट ‘नारी दृष्टि नेपाल’को यात्रा सुरु, महिला सशक्तीकरण र आत्मनिर्भरताको अभियान अघि बढाउने प्रतिबद्धता :

मानव सेवाबाट ‘नारी दृष्टि नेपाल’को यात्रा सुरु, महिला सशक्तीकरण र आत्मनिर्भरताको अभियान अघि बढाउने प्रतिबद्धता :


हाम्रो राष्ट्र
  • बुधबार, २० साउन २०८३
  • 1.6K
    SHARES

    काठमाडौं: समाजसेवा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणलाई आफ्नो प्रमुख उद्देश्य बनाउँदै स्थापना भएको ‘नारी दृष्टि नेपाल’ले मानव सेवामार्फत आफ्नो सामाजिक अभियानको औपचारिक सुरुवात गरेको छ।

    संस्थाको स्थापना दिवसको अवसरमा काठमाडौंको धुम्बाराहीस्थित लायन्स वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक आमाहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको हो। कार्यक्रममा सहभागीहरूले वृद्धाश्रमका आमाहरूसँग आत्मीय भेटघाट गर्दै उहाँहरूको स्वास्थ्य, जीवन अनुभव र आवश्यकताबारे जानकारीसमेत लिएका थिए।

    सेवा सामग्री हस्तान्तरणसँगै आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र जिम्मेवारी व्यक्त गरिएको थियो। संस्थाले आफ्नो पहिलो कार्यक्रम नै वृद्धाश्रमबाट सुरु गरेर समाजका ज्येष्ठ नागरिकप्रति सम्मान र मानवीय संवेदनालाई प्राथमिकतामा राखेको जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि एमसीसी लायन केशर बी. भण्डारीले मानव सेवाबाट संस्थाको पहिलो कार्यक्रम सुरु हुनु आफैंमा सकारात्मक सन्देश भएको बताए। वृद्धाश्रममा पुगेर ज्येष्ठ नागरिकसँग समय बिताउँदा सेवा मात्र नभई आत्मिक सन्तुष्टिसमेत प्राप्त हुने उल्लेख गर्दै उनले ‘नारी दृष्टि नेपाल’ले आगामी दिनमा सामाजिक क्षेत्रमा प्रभावकारी र परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरे।

    संस्थाले अघि सार्ने सामाजिक अभियानमा आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि लायन भण्डारीले व्यक्त गरे।

    कार्यक्रमका विशिष्ट अतिथि, पूर्वसभासद तथा समाजसेवी नरोत्तमलाल वैद्यले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत प्रयाससँगै संस्थागत अभियानको पनि महत्वपूर्ण भूमिका हुने बताए। समाजका कमजोर तथा आवश्यकतामा रहेका वर्गसम्म पुगेर सेवा र सहयोग पुर्‍याउने यस्ता अभियानले सकारात्मक सोचको विकास गर्न मद्दत गर्ने उनको भनाइ थियो। उनले संस्थाले आफ्नो उद्देश्यलाई व्यवहारमा उतार्दै निरन्तर अघि बढ्न सकोस् भन्दै शुभकामना व्यक्त गरे।

    संस्थाकी संस्थापक अध्यक्ष लायन डा. भद्रा पाराजुली भण्डारीले ‘नारी दृष्टि नेपाल’लाई केवल राहत र सहयोग वितरणमा सीमित संस्था नभई महिलाको क्षमता, सीप र सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा अघि बढाउने बताइन्।

    उनका अनुसार संस्थाले महिला सशक्तीकरणसँगै सीप विकास, रोजगारी प्रवर्द्धन, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व तथा आवश्यकतामा रहेका समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। महिलालाई सहयोगको पात्र मात्र नभई अवसर पाएपछि आफैं अवसर सिर्जना गर्न सक्ने सक्षम र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्ने संस्थाको लक्ष्य रहेको उनले स्पष्ट पारिन्।

    ‘हाम्रो यात्राको पहिलो खुड्किलो मानव सेवा हो। सेवा, सहयोग र सहकार्यलाई आधार बनाएर महिला सशक्तीकरण तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई क्रमशः अघि बढाउँदै लैजानेछौं,’ अध्यक्ष डा. भण्डारीले भनिन्।

    कार्यक्रमको सञ्चालन वर्षा अधिकारीले गरेकी थिइन्। उनले कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउँदै सेवा, सम्मान र सामाजिक उत्तरदायित्वको महत्वबारे धारणा राखेकी थिइन्। कार्यक्रमका विभिन्न चरणलाई सहजीकरण गर्दै उनले संस्थाको उद्देश्य र आगामी अभियानबारे समेत सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

    कार्यक्रममा सहभागी संस्थाका पदाधिकारी तथा सदस्यहरूले आगामी दिनमा समाजका विभिन्न क्षेत्रमा आवश्यकता पहिचान गरी सहयोग, सीपमूलक तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।

    संस्थाले महिला तथा समुदायको वास्तविक आवश्यकता पहिचान गरी दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ। तत्कालीन राहतसँगै सीप, शिक्षा, रोजगारी र आत्मनिर्भरतासँग जोडिएका कार्यक्रमलाई अगाडि बढाउने संस्थाको योजना छ।

    लायन्स वृद्धाश्रमका सञ्चालक धनराज मन्देल, रामचन्द्र सुरतलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    ज्येष्ठ नागरिक आमाहरूको आशीर्वाद लिएर सुरु भएको ‘नारी दृष्टि नेपाल’को पहिलो अभियानले संस्थाको सामाजिक यात्रालाई सेवामुखी र मानवीय आधार दिएको छ। संस्थाले आगामी दिनमा यही भावनालाई निरन्तरता दिँदै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा ठोस योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend