काठमाडौँ, कात्तिक १२, २०८३ (अक्टोबर २८, २०२६) – जर्मनीको आर्थिक सहकार्य तथा विकासका लागि सङ्घीय मन्त्रीका संसदीय राज्यमन्त्री डा. बार्बेल कोफ्लर चार दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुग्दै हुनुहुन्छ। उहाँको भ्रमण अक्टोबर २८ देखि ३१ सम्म रहनेछ।
भ्रमणका क्रममा डा. कोफ्लरले नेपाल-जर्मन विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र तथा भोटेकोशी बाढीको प्रभावका विषयमा विशेष ध्यान केन्द्रित गर्नुहुनेछ। जर्मनी सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता तथा स्वास्थ्य र ऊर्जा पूर्वाधार पुनर्निर्माणका लागि ११.०६१ मिलियन युरो सहयोग उपलब्ध गराएको छ।
नुवाकोट जिल्ला भ्रमण: डा. कोफ्लरले नुवाकोट जिल्लाको भ्रमण गरी बाढीको प्रभाव तथा मानवीय अवस्थाको स्थलगत अवलोकन गर्नुहुनेछ। सो क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रभावित बासिन्दाहरूसँग छलफल गर्नुहुनेछ।
काठमाडौँमा भेटघाट: उहाँले जर्मन विकास सहकार्यद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको अवलोकन गर्नुका साथै नेपाल सरकारका प्रतिनिधि तथा नागरिक समाजसँग स्वास्थ्य क्षेत्रबारे छलफल गर्नुहुनेछ।
समसामयिक विषयमा संवाद: भ्रमणका क्रममा नेपालको सङ्क्रमणकालीन न्याय र गत वर्षको ‘जेन-जी’ (Gen-Z) आन्दोलन लगायतका समसामयिक विषयमा पनि विचार-विमर्श हुनेछ।
सन् २००४ देखि जर्मन संसदका सदस्य रहनुभएकी डा. कोफ्लर सन् २०२१ देखि राज्यमन्त्रीको पदमा कार्यरत हुनुहुन्छ। यसअघि सन् २०२२ मा पनि नेपाल भ्रमण गर्नुभएकी डा. कोफ्लरको यो भ्रमणले नेपाल र जर्मनीबिचको दीर्घकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend