काठमाडौँ:नेपालमा उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई सुदृढ बनाउने उद्देश्यका साथ कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका-KOICA) ले ‘के-कनेक्ट: प्रोमोथिङ द एन्टरप्रेनरसिप इकोसिस्टम इन नेपाल’ नामक विशेष पहल सुरु गरेको छ। काठमाडौँमा आयोजित यस विशेष कार्यक्रमले नेपालभरका उद्यमी, वित्तीय संस्था, लगानीकर्ता, मेन्टर, सरकारी निकाय र विकास साझेदारहरूलाई एउटै सञ्जालमा जोड्दै देशमा दिगो व्यावसायिक वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते-योङ तथा कोइका नेपालका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले नेपाली startup हरूलाई बजार र पुँजीसम्म पुर्याउने दीर्घकालीन मञ्च प्रदान गरेको छ। नेपालमा सञ्चालित विभिन्न क्षेत्रगत परियोजनाहरूलाई एकीकृत गर्दै साना तथा मझौला उद्यमहरूलाई बलियो बनाउनु ‘के-कनेक्ट’ को मुख्य ध्येय रहेको छ। वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूलाई पुनर्स्थापना गर्न सञ्चालित के-हामी (K-HaMi) परियोजनाअन्तर्गत हालसम्म १५ हजारभन्दा बढी फर्किएका श्रमिकहरूलाई प्राविधिक, वित्तीय साक्षरता र उद्यमशीलता तालिम प्रदान गरिसकिएको छ। यसैगरी, फर्किएका श्रमिकहरूलाई व्यवसाय सञ्चालनका लागि ऋण सहज बनाउन कोइकाले २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान (Interest Subsidy) उपलब्ध गराएको छ, जसबाट करिब ३०० भन्दा बढी उद्यमी प्रत्यक्ष लाभान्वित हुनेछन्। कृषि र वातावरण क्षेत्रमा पनि कोइकाले उल्लेखनीय उपलब्धि हासिल गर्दै उद्यमशीलता प्रवर्द्धन गरिरहेको छ।
जलवायु मैत्री कृषि (CSA) परियोजनाअन्तर्गत तराई क्षेत्रमा १०९ वटा जलवायु-अनुकूल कृषि व्यवसायहरू स्थापना भएका छन् भने ५,३०० भन्दा बढी लाभान्वितहरूलाई अनुदान र तालिम दिएर ३४३ भन्दा बढी हरित रोजगारी सिर्जना गरिएको छ। यसका साथै, पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना (GCRU) परियोजनामार्फत चक्रिय अर्थतन्त्र र फोहोर पुनःप्रशोधनमा आधारित ११५ भन्दा बढी साना उद्यमहरू स्थापना भई हजारौँ स्थानीयहरूलाई उद्यमशीलताको दायरामा ल्याइएको छ।
कोइका नेपालकी डेपुटी कन्ट्री डाइरेक्टर मिस सुजिन यो (Ms. Sujin Yeo) का अनुसार, के-कनेक्टले नेपाली startup हरूलाई छरिएर रहेका स्रोत र साधनहरूसँग जोड्दै दिगो विकासका लागि सहकार्यको बाटो खोलेको छ। कोरियाको विकास यात्रामा मानव संसाधन, नवप्रवर्तन र निजी क्षेत्रको योगदान मुख्य रहेझैँ नेपालमा पनि युवा वर्ग र फर्किएका श्रमिकहरूको सीपलाई स्वदेशी उद्यमशीलतामा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरिएको छ। यो पहलले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै आत्मनिर्भर बन्न र नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न ठूलो मद्दत पुर्याउने अपेक्षा राखिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend