काठमाडौं: ब्रह्मलीन स्वामी चन्द्रेशको तृतीय स्मृति दिवसका अवसरमा बुढानीलकण्ठ आश्रममा विविध धार्मिक तथा साहित्यिक कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
बुढानीलकण्ठ आश्रमद्वारा आयोजित स्मृति सभा तथा काव्य गोष्ठीमा पूजा–आराधना, स्वामी चन्द्रेशको जीवन, दर्शन र योगदानबारे चर्चा तथा कवितावाचन गरिएको थियो। करिब तीन घण्टा चलेको कार्यक्रममा विभिन्न कविहरूले एक दर्जनभन्दा बढी कविता वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहालले स्वामी चन्द्रेशको व्यक्तित्वका दुई महत्वपूर्ण पाटा रहेको बताउनुभयो। उहाँका अनुसार स्वामी चन्द्रेशको पहिलो पाटो आध्यात्मिक चिन्तन, चरित्र निर्माण, ज्ञान, ध्यान, योग र भक्तिसँग सम्बन्धित थियो भने अर्को पाटो गुरुकुल स्थापना, चित्रकला, भाषा–साहित्य तथा ‘त्रिनेत्री शिक्षा’को अवधारणासँग जोडिएको थियो।
डा. दाहालले स्वामी चन्द्रेश आध्यात्मिक साधक मात्र नभई कला, साहित्य र संगीतप्रति समेत गहिरो रुचि राख्ने व्यक्तित्व भएको उल्लेख गर्दै उहाँ भ्वाइलिन वादकसमेत रहेको स्मरण गर्नुभयो।
कार्यक्रममा आश्रमका संरक्षक स्वामी गुञ्जनजी महाराज, कविता कार्यक्रमका संयोजक स्वामी ब्रह्मप्रिय प्रेमस्वरूप, साहित्यकार रामप्रसाद पन्त, डा. खेम कोइराला बन्धुलगायतले स्वामी चन्द्रेशको जीवन, साधना, विचार तथा आश्रममार्फत उहाँले पुर्याउनुभएको बहुआयामिक योगदानबारे प्रकाश पार्नुभयो।
कविहरू त्रिलोचन आचार्य, द्वारिका कुइँकेल, अनिता धिताल, रीता खतिवडा, पुरुषोत्तम मरहट्टा, विष्णुवर सिंह थापालगायतले कविता वाचन गर्दै स्वामी चन्द्रेशप्रति साहित्यिक श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रमको सभापतित्व साहित्यकार ठाकुर शर्माले गर्नुभएको थियो भने त्रिलोचन आचार्यले उद्घोषण गर्नुभएको थियो। कार्यक्रममा रामप्रसाद पन्त र डा. खेम कोइराला बन्धु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
स्वामी चन्द्रेशको तृतीय स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमले उहाँको आध्यात्मिक साधना, शिक्षा, गुरुकुल, कला, साहित्य तथा समाजमा पुर्याउनुभएको बहुआयामिक योगदानलाई पुनः स्मरण गराएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend