logo

२०८३ कार्तिक १३ बिहिबार

यूके बजेट २०२६: उत्कृष्ट विश्वविद्यालयका विद्यार्थीलाई दुई वर्षे ग्र्याजुएट भिसा कायम रहने

यूके बजेट २०२६: उत्कृष्ट विश्वविद्यालयका विद्यार्थीलाई दुई वर्षे ग्र्याजुएट भिसा कायम रहने


हाम्रो राष्ट्र
  • बिहिबार, १३ कार्तिक २०८३
  • 559
    SHARES

    युके, युके (संयुक्त अधिराज्य) सरकारले अक्टोबर २८ मा सार्वजनिक गरेको बजेट २०२६ अनुसार उच्च मापदण्ड पूरा गर्ने (High-compliance) विश्वविद्यालयबाट स्नातक पूरा गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि २ वर्षे ग्र्याजुएट भिसा सुविधा यथावत राखिने भएको छ। यसअघि बेलायत सरकारले जनवरी २०२७ देखि ग्र्याजुएट भिसाको अवधि दुई वर्षबाट घटाएर १८ महिना बनाउने घोषणा गरेको थियो। तर नयाँ बजेट वक्तव्यमार्फत उत्कृष्ट श्रम बजार परिणाम र उच्च अनुपालन दर भएका विश्वविद्यालयका ग्र्याजुएटहरूका लागि १८ महिनाको सट्टा दुई वर्षे भिसा अवधि नै कायम गरिने स्पष्ट पारिएको छ।

    नयाँ नीति अन्तर्गत ‘उच्च अनुपालन’ विश्वविद्यालय कसरी तोकिनेछ र कुन-कुन विश्वविद्यालयहरू यसमा समेटिनेछन् भन्ने निश्चित मापदण्ड स्पष्ट हुन बाँकी छ। बेलायतलाई उच्च दक्ष कामदारहरूका लागि युरोपकै सबैभन्दा अनुकूल स्थान बनाउने लक्ष्य सरकारले लिएको छ। यसका साथै विश्वका शीर्ष १५० उत्कृष्ट शिक्षण संस्थाहरूका स्नातकहरूलाई आकर्षित गर्न हाई पोटेन्सियल इन्डिभिजुअल (HPI) भिसाको दायरा र सीमा बढाइने भएको छ।

    बेलायतमा अध्ययनरत तथा अध्ययनका लागि जाने योजनामा रहेका हजारौँ नेपाली विद्यार्थीहरूका लागि यो निर्णय अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। हाल बेलायतका विश्वविद्यालयहरूले विद्यार्थी प्रायोजन इजाजतपत्रका लागि कडा आधारभूत अनुपालन मूल्याङ्कन (BCA) नियमहरूको सामना गरिरहेका छन्। रससेल ग्रुपकी रणनीतिक नीति निर्देशक होली च्यान्डलरका अनुसार उच्च मापदण्ड कायम गर्ने विश्वविद्यालयहरूका लागि ग्र्याजुएट भिसाको अवधि घटाउनबाट जोगिनुले बेलायतको अन्तर्राष्ट्रिय शैक्षिक साख जोगाउन र दक्ष ग्र्याजुएटहरूलाई बेलायती कार्यबलमा जोड्न ठूलो मद्दत पुग्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend