logo

२०८३ कार्तिक १३ बिहिबार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने


हाम्रो राष्ट्र
  • बिहिबार, १३ कार्तिक २०८३
  • 325
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

    ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति गगनकुमार थापाले असोज ३१ गते नै शपथ ग्रहण गरिसक्नुभएको छ। त्यसैले आज सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्।

    निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा हुनेछ। शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी आजै पदबहालीसमेत गराइनेछ।

    गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनको मतदान असोज २३ गते भएको थियो। सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो भने अन्य पदको मतगणना सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो।

    निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।

    कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।

    महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा करिब ९४ प्रतिशत मतसहित निर्वाचित हुनुभएको थियो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ।

    त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिमा विभिन्न समुदाय, क्षेत्र र पेसागत पृष्ठभूमिका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

    शपथ ग्रहण र पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्ने जनाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend