काठमाडौं । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् । साउन १५ अघि रोपाइँ सकिने पुरानो चलनअनुसार हिलो उतार्न साउने पन्ध्र पर्वको परम्परा चले पनि यसपालि धान रोप्न नपाइँदा किसानले खुसी मनले साउने पन्ध्र मनाउन पाएका छैनन् ।
“धानबालीका कुनै काम निश्चित तालिकाअनुसार गर्न सकिएन, कहिले बीउ तयार छैन, कहिले पानी छैन”, भङ्गाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुहुन्छ, “परम्परा धान्न नै आज खिर खाने तयारी गरिँदैछ ।” जिल्लामा यसपालि रोपाइँ ५० प्रतिशत नाघेको छैन भने रोपिएको रोपो पनि पानी नपर्दा ओइलाएको छ ।
वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुसीले भन्दा परम्परा थेग्नमात्र साउने पन्ध्र पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा लाग्नुपरेको धेरैको भनाइ छ । पर्वका अवसरमा जिल्लाका बर्दिबास, गौशाला र औरहीका बजार क्षेत्रका दुग्ध पसलमा आज दूध लिनेको भीड छ ।
साउने पन्ध्र पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँ चेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा छ । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरक्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend