logo

२०८३ साउन १४ बिहिबार

स्वास्थ्य बीमाको २२ लाख लिएर स्वास्थ्यकर्मी फरार

स्वास्थ्य बीमाको २२ लाख लिएर स्वास्थ्यकर्मी फरार


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा राखेर एक स्वास्थ्यकर्मी फरार भएका छन् ।

    स्वास्थ्य बीमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिनियर अहेब मोहम्मद फिरोज अली बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहीन भएका हुन् ।

    बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार अली पुस ११ गतेदेखि सम्पर्कविहीन भएका हुन् । उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए ।

    अलीले गत असार मसान्तसम्म स्वास्थ्य बीमाका लागि दर्ता सहयोगीमार्फत उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ । प्रिमियम रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेस गरेका थिए । तर, त्यसबेला खातामा रकम नभई चेक फिर्ता भएको थियो ।

    चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उनको नाममा पत्र काटेको थियो। तर, त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

    बोर्डले २९ फागुनमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिला गरेर स्पष्टीकरण पेस नगरेमा अपचलन गरेको रकम ब्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend