इजरायल। इजरायल–इरानबीचको पछिल्लो द्वन्द्वका बीच इजरायलमा रहेका नेपालीको सुरक्षालाई ध्यानमा राख्दै त्यहाँस्थित नेपाली राजदूतावासले अत्यन्तै सावधानी अपनाउन आग्रह गरेको छ।
दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत तथा अध्ययनरत सबै नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायबाट जारी भइरहेका निर्देशनहरूको कडाईका साथ पालना गर्न र अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ।
“इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,” दूतावासले भनेको छ।
हालको संवेदनशील परिस्थितिलाई दृष्टिगत गर्दै दूतावासले २४ सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर पनि सार्वजनिक गरेको छ, जसको माध्यमबाट नेपाली नागरिकले आपतकालीन अवस्थामा सहयोग माग्न सक्नेछन्।
दूतावासका अनुसार हाल इजरायलका अधिकांश शैक्षिक संस्था तथा कार्यालय बन्द रहेका छन् र सभा, जुलुस वा ठूला भेलाहरूमा सहभागी हुन निषेध गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend