काठमाडौँ — तीनकुने, काठमाडौँस्थित भी.एस. (विनायक सुधा) निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूको स्वागतमा ‘स्वागत कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो।
औपचारिक पहिलो चरणमा विद्यालयकी अध्यक्ष श्रीमती उर्मिला पोखरेल, संस्थापक निर्देशक डा. बाबुराम पोखरेलका सुपुत्र एवं संस्थापक निर्देशक डा. बबिन पोखरेल, निर्देशक डा. वैभव पोखरेल, तथा प्राचार्यहरू श्री रञ्जित कुमार पण्डित, श्रीमती सङ्गीता श्रेष्ठ र श्री गोपाल सिंहसहित उप-प्राचार्य, शैक्षिक सल्लाहकार, कलेज प्रबन्धक, संयोजकहरू, मानव संसाधन निर्देशक, वित्त निर्देशक, जनसम्पर्क तथा सञ्चार प्रबन्धक, वरिष्ठ प्रशासनिक अधिकृत, सहायक संयोजक, प्राध्यापक वर्ग एवं प्रशासनिक कर्मचारीहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमकी अध्यक्ष श्रीमती उर्मिला पोखरेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो भने त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। वरिष्ठ विद्यार्थीहरूको तर्फबाट कक्षा १२ (विज्ञान संकाय) का सारङ्ग श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
दोस्रो चरणमा विज्ञान, व्यवस्थापन तथा मिश्रित समूहका विद्यार्थीहरूले १८ वटा विविध सांस्कृतिक, साङ्गीतिक तथा नृत्य प्रस्तुतिहरू पस्किएका थिए। विद्यार्थी उद्घोषकहरू आदित्य, रोशनी, प्रणिता, प्रकृति, सिद्धार्थ, रिङ्की, नवीन, भगीरथ, दृष्टि, आशिष, रेश्मा, नेहा, जास्मिन र आरुषीले कार्यक्रमको सञ्चालन गरेका थिए।
सांस्कृतिक सत्रमा निशा र समूहको राष्ट्रिय गीतमा स्वागत नृत्य, अनुष्का र समूहको टप्पा रिमिक्स, प्रवेश कार्कीको ‘रक्तिम’ गीत, रोशनी र समूहको ‘झिझिया/छठ’ नृत्य, अनिश वाइबाको ‘फूलथुङ्गा रानी’ गीत, सारङ्ग र समूहको ‘जुनी काट्ने’ रिमिक्स नृत्य तथा शक्ति कार्कीको ‘किन’ बोलको र्याप प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। यसैगरी आदित्य र समूहको भोजपुरी तथा नेपाली रिमिक्स नृत्य, रोहित अवस्थीको एकल नृत्य, श्रवण र समूहको मैथिली रिमिक्स, एमडी मुस्तफा र समूहको ‘भेडाको ऊन’ रिमिक्स, वर्षा र समूहको ‘लाहुरे दाइ’ नृत्य, बिनिता शाहीको तामाङ सेलो ‘स्याजी होइ’ रिमिक्स, ओमिस्टा र समूहको ‘पट्केको बाहुन बाजे’ नृत्य, रोशा र समूहको वाद्यवादन, अनिरुद्र र रोशाको ‘मुटुदेखि’ गीत तथा श्रवण पासवानको भोजपुरी एकल नृत्य विशेष आकर्षण बनेका थिए। कार्यक्रमको अन्त्यमा अनिरुद्र र समूह तथा सुप्रिम र समूहको ‘सिन्धुलीगढी’ रिमिक्ससहितको लाइभ ब्यान्ड प्रस्तुतिले माहोललाई थप उत्साहपूर्ण बनाएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend