प्रस्तुति : कमल गौतम (हाम्रो राष्ट्र अनलाइन)
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएकी प्रा. डा. अमिता प्रधान शाक्य राजनीतिसँगै प्राज्ञिक, अनुसन्धान तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो । जीव–तथ्याङ्कशास्त्र (Biostatistics) मा विद्यावारिधि गर्नुभएकी उहाँ जनस्वास्थ्य अनुसन्धान, महिला सशक्तीकरण र नेवाः भाषा, कला, संस्कृति तथा अधिकारको संरक्षणमा निरन्तर सक्रिय हुनुहुन्छ । हालै सरकारले नेपाल राजपत्रमार्फत नेवाः समुदायका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेपछि उत्पन्न विवाद र नेवाः अधिकारका विविध आयामबारे हाम्रो राष्ट्र अनलाइनका संवाददाता कमल गौतमले प्रा. डा. शाक्यसँग गर्नुभएको विशेष कुराकानी :
१. डा. सा’ब, स्वागत छ । यहाँ प्राज्ञिक र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लामो समयदेखि स्थापित व्यक्तित्व हुनुहुन्छ । प्राज्ञिक क्षेत्रबाट सक्रिय राजनीतिमा आउने प्रेरणा कसरी मिल्यो ?
प्रा. डा. शाक्य : धन्यवाद कमलजी । मेरो पारिवारिक र सामाजिक पृष्ठभूमि नै लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक सेवासँग जोडिएको छ । लामो समय प्राध्यापन, जीव–तथ्याङ्कशास्त्र र जनस्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गरिरहँदा मैले एउटा गहिरो यथार्थ महसुस गरेँ— हामीले जतिसुकै राम्रा वैज्ञानिक अनुसन्धान गरे पनि वा नीतिगत सुझाव दिए पनि तिनलाई कार्यान्वयन गर्ने र जनताको जीवनस्तर बदल्ने अन्तिम थलो त राजनीति नै रहेछ । नीति निर्माणको तहमा विषयविज्ञ, प्राज्ञिक व्यक्ति र भुइँतहको यथार्थ बुझेका महिलाहरूको प्रत्यक्ष उपस्थिति नहुँदासम्म दिगो विकास सम्भव हुँदैन । यही सोचका साथ मैले नेपाली कांग्रेसको लोकतान्त्रिक विचारधारालाई आत्मसात् गर्दै नेपाल महिला संघ, महासमिति सदस्य हुँदै सक्रिय राजनीतिमा होमिएकी हुँ । राजनीति मेरा लागि पदभन्दा पनि समाज रूपान्तरण र नीतिगत सुधारको माध्यम हो ।
२. नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ उपत्यकाबाट यहाँ केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । यो ऐतिहासिक विश्वासलाई कसरी लिनुभएको छ ?
प्रा. डा. शाक्य : १५औँ महाधिवेशनमा काठमाडौँ उपत्यकाका साथीहरूले मप्रति देखाउनुभएको यो अथाह प्रेम, सद्भाव र विश्वासप्रति म अत्यन्तै आभारी छु । निर्विरोध निर्वाचित हुनु भनेको केवल व्यक्तिगत जित होइन, यो उपत्यकाको मौलिक पहिचान, संस्कृति, यहाँका स्थानीय मुद्दा र बौद्धिक नेतृत्वलाई पार्टीले दिएको उच्च सम्मान हो । मैले विगतमा नेपाल महिला संघको केन्द्रीय सदस्य र महासमिति सदस्यका रूपमा काम गर्दा साथीहरूसँगको निरन्तर संवाद, सुख–दुःखको सहकार्य र पार्टी संगठनप्रतिको इमानदारिताकै कारण यो सर्वसम्मत वातावरण बनेको हो । यसले मलाई काठमाडौँ उपत्यकाको समग्र विकास, नेवाः समुदायको अधिकार र पार्टीको सुदृढीकरणका लागि अझ बढी जिम्मेवार र जवाफदेही बनाएको छ ।
३. यहाँ पिपुल्स डेन्टल कलेजको संस्थागत समीक्षा समिति (IRC) को अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नल सम्पादकदेखि विभिन्न सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ । यी भूमिकाहरूले राजनीतिक नेतृत्वमा कस्तो मद्दत पुर्याएका छन् ?
प्रा. डा. शाक्य : प्राज्ञिक र सामाजिक क्षेत्रको अनुभवले राजनीतिलाई तथ्यपरक, संवेदनशील र पारदर्शी बनाउन ठूलो मद्दत गर्दो रहेछ । पिपुल्स डेन्टल कलेजको संस्थागत समीक्षा समितिको अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को जर्नल सम्पादनमा काम गर्दा हामीले हरेक विषयमा नैतिकता (Ethics), प्रमाण र तथ्याङ्कको कसीमा राखेर निर्णय गर्छौं । त्यस्तै, मातृ तथा शिशु अनुसन्धान (MIRA), द लेप्रोसी मिसन नेपाल, प्लानेटरी हेल्थ रिसर्च सेन्टर र रोटरी क्लब अफ चन्द्रागिरिजस्ता संस्थाहरूमार्फत काम गर्दा मैले सीमान्तकृत समुदाय, आमा–बच्चाको स्वास्थ्य, कुष्ठरोग प्रभावितहरूको पीडा र वातावरणीय स्वास्थ्यका समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएँ । राजनीतिमा आइसकेपछि पनि मैले हचुवाको भरमा बोल्नुभन्दा तथ्य, अनुसन्धान र मानवीय संवेदनाका आधारमा नीतिगत बहस गर्ने संस्कारलाई अघि बढाएकी छु ।
४. प्रसङ्ग बदलौँ, हालै सरकारले नेपाल राजपत्रमार्फत नेवाः समुदायका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेपछि चौतर्फी विरोध भइरहेको छ । यस विषयमा यहाँको धारणा के छ ?
प्रा. डा. शाक्य : सरकारको यो निर्णय अत्यन्तै त्रुटिपूर्ण, अविवेकी र नेवाः समुदायको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक संरचनामाथिको ठाडो प्रहार हो । नेवाः सभ्यता आफैँमा एक विशिष्ट, वैज्ञानिक र श्रम विभाजनमा आधारित सभ्यता हो । यहाँ ‘दलित’ भन्ने छुट्टै जातीय विभाजन वा छुवाछूतको परम्परागत संरचना नै छैन । नेवाः समाजका हरेक थर आ–आफ्नो गुठी प्रणालीसँग आबद्ध भएर जन्मेदेखि मृत्युपर्यन्तका सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यहरूमा अभिन्न अङ्गका रूपमा सहभागी हुन्छन् । यस्तो मौलिक सामाजिक संरचनालाई नबुझी, सरोकारवाला समुदाय र विज्ञहरूसँग कुनै परामर्श नगरी हचुवाको भरमा ४० वटा थरलाई दलित सूचीमा राख्नुले सिंगो नेवाः समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको छ ।
५. अझ संवेदनशील पक्ष त के देखिएको छ भने, नेवाः समुदायको सर्वोच्च धार्मिक आस्थाकी प्रतीक जीवित देवी ‘कुमारी माजु’ सँग सम्बन्धित थरसमेत उक्त सूचीमा समेटिएको छ । यसले धार्मिक आस्थामा कस्तो असर पारेको छ ?
प्रा. डा. शाक्य : हो, यो विषयले हामी सबैलाई मर्माहत बनाएको छ । जीवित देवी कुमारी माजु नेवाः समुदायको मात्र होइन, समग्र नेपाली राष्ट्रकै गौरव र सर्वोच्च धार्मिक आस्थाकी प्रतीक हुनुहुन्छ । राष्ट्रप्रमुखले समेत शीर झुकाएर टीका र आशीर्वाद ग्रहण गर्ने जीवित देवी कुमारी माजुसँग सम्बन्धित थरलाई समेत दलित सूचीमा सूचीकृत गरिनु धार्मिक आस्था, परम्परा र सांस्कृतिक मूल्य–मान्यतामाथिको गम्भीर अपमान हो । राज्यले कुनै पनि समुदायको आस्था र संवेदनशीलतामाथि यसरी खेलबाड गर्न पाउँदैन । स्थानीयवासी र गुठियारहरूको आक्रोश शतप्रतिशत जायज छ ।
६. नेवाः देय् दबूको पहलमा राष्ट्रिय दलित आयोगले उक्त सूचीकरणलाई हाललाई स्थगित त गरेको छ, तर समुदायले राजपत्रबाटै खारेज गर्नुपर्ने माग गरिरहेको छ । किन स्थगन मात्र पर्याप्त छैन ?
प्रा. डा. शाक्य : हेर्नुस्, जब कुनै विषय नेपाल राजपत्रमा प्रकाशित हुन्छ, त्यसले कानुनी र अभिलेखीय मान्यता प्राप्त गरिसकेको हुन्छ । आयोगले प्रशासनिक निर्णयमार्फत ‘हाललाई स्थगित’ गर्नु भनेको अस्थायी मल्हमपट्टी मात्र हो । भोलि कुनै पनि बेला त्यो पुनः ब्युँतिने खतरा रहिरहन्छ । नेवाः देय् दबूको पहलमा भएको स्थगन सकारात्मक सुरुवात भए पनि यो पर्याप्त छैन । त्यसैले, नेपाल राजपत्र (भाग ५, खण्ड ७६, संख्या ३६) मा प्रकाशित उक्त त्रुटिपूर्ण विवरणलाई मन्त्रिपरिषद्को निर्णयमार्फत राजपत्रबाटै पूर्ण रूपमा खारेज गरी सच्याउनुपर्छ । हाम्रो स्पष्ट माग स्थगन होइन, पूर्ण खारेजी नै हो ।
७. यहाँले यो विषयलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उठाउनुभएको छ र प्रस्तावका रूपमा लैजाने बताउनुभएको छ । पार्टीभित्रबाट कस्तो पहल भइरहेको छ ?
प्रा. डा. शाक्य : नेपाली कांग्रेस सधैँ सबै जातजाति, भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने तथा सामाजिक सद्भावको पक्षमा उभिने पार्टी हो । मैले केन्द्रीय कार्यसमितिको बैठकमा नेवाः समुदायका ४० थरलाई दलित सूचीमा राखिएको विषयको गम्भीरता र यसले निम्त्याउन सक्ने दूरगामी असरबारे स्पष्ट रूपमा कुरा राखेकी छु । भोलि बस्ने केन्द्रीय समितिको बैठकमा यसलाई औपचारिक प्रस्तावका रूपमा पेस गर्दैछु । पार्टीको तर्फबाट सरकारलाई तत्काल उक्त राजपत्रको सूचीकरण खारेज गर्न दबाब दिने र नेवाः समुदायको ऐतिहासिक पहिचानको रक्षा गर्ने विषयमा कांग्रेसले स्पष्ट र दृढ निर्णय लिनेछ भन्नेमा म विश्वस्त छु ।
८. यस्ता संवेदनशील विषयमा राज्यले बिनाअध्ययन निर्णय गर्दा देशको सामाजिक सद्भाव र राष्ट्रिय एकतामा कस्तो जोखिम देख्नुहुन्छ ?
प्रा. डा. शाक्य : यो केवल एउटा समुदायको थरको मात्र प्रश्न होइन, यो समग्र देशको सामाजिक सद्भाव र राष्ट्रिय एकतासँग जोडिएको गम्भीर विषय हो । वर्षौंदेखि मिलेर बसेको, एक–अर्काको संस्कृति र गुठी परम्परामा सहकार्य गर्दै आएको समाजमा राज्यले नै कृत्रिम रेखा कोरेर वर्गीकरण गर्न खोज्दा यसले समुदायभित्रै अनावश्यक अविश्वास, विग्रह र द्वन्द्व सिर्जना गर्छ । यसले देशलाई अनावश्यक जातीय विभाजनतर्फ धकेल्ने खतरा रहन्छ । तसर्थ, राज्यका निकायहरूले कुनै पनि समुदायको पहिचान, थर वा वर्गीकरणसम्बन्धी निर्णय गर्दा गहिरो मानवशास्त्रीय, समाजशास्त्रीय अध्ययन र सम्बन्धित समुदायको सहमतिबिना एकलौटी निर्णय गर्नु हुँदैन ।
९. अन्त्यमा, नेवाः भाषा, कला, संस्कृति र अधिकारको संरक्षणका लागि आगामी दिनमा यहाँको भूमिका र प्राथमिक एजेन्डा के–के रहनेछन् ?
प्रा. डा. शाक्य : काठमाडौँ उपत्यकाको प्रतिनिधि र एक सचेत नेवाः छोरीका नाताले नेवाः भाषा, लिपि, कला, संस्कृति, सम्पदा र गुठी प्रणालीको संरक्षण र संवर्द्धन मेरो जीवनपर्यन्तको प्रतिबद्धता हो । आगामी दिनमा पहिलो प्राथमिकताका रूपमा राजपत्रको त्रुटिपूर्ण सूचीकरण खारेज गराउन निर्णायक पहल गर्नेछु । दोस्रो, नेवाः समुदायका परम्परागत गुठी, जात्रा, पर्व र अमूर्त सम्पदाको संरक्षणका लागि राज्यबाट पर्याप्त बजेट र नीतिगत सुरक्षाको व्यवस्था गर्न आवाज उठाउनेछु । तेस्रो, उपत्यकाका आदिवासी नेवाः समुदायको रैथाने ज्ञान, सीप र उद्यमशीलतालाई आधुनिक प्रविधि र बजारसँग जोड्दै युवा तथा महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने नीति निर्माणमा मेरो सक्रिय भूमिका रहनेछ । म सदैव नेवाः समुदायको स्वाभिमान, अधिकार र समृद्धिका लागि अग्रपङ्क्तिमा रहेर लडिरहनेछु ।
कमल गौतम : व्यस्त समयका बाबजुद महत्त्वपूर्ण विचार राखिदिनुभएकोमा यहाँलाई धेरै–धेरै धन्यवाद डा. सा’ब । प्रा. डा. शाक्य : मेरो विचार र नेवाः समुदायको संवेदनशील मुद्दालाई जनतासमक्ष पुर्याइदिनुभएकोमा यहाँ र हाम्रो राष्ट्र अनलाइन परिवारलाई हार्दिक धन्यवाद ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend