logo

२०८३ मंसिर ९ मंगलबार

काठमाडौँमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम सम्पन्न

काठमाडौँमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, ९ मंसिर २०८३
  • 273
    SHARES

    काठमाडौँ, नेपालस्थित इजरायली दूतावासले आज २४ नोभेम्बर २०२६ मा ‘इजरायल साइबर एन्ड एआई’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ । साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) तथा उदीयमान प्रविधिहरूमा इजरायलको विशेषज्ञता र अनुभवबारे जानकारी लिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सरकारी निकाय, सूचना प्रविधि, एआई, बैंकिङ लगायत सम्बद्ध क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय डा. महावीर पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सम्बोधनका क्रममा मन्त्री पुनले अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा इजरायल अग्रणी राष्ट्र रहेको बताउँदै इजरायलले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रकम अनुसन्धान तथा विकासमा लगानी गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले मित्रराष्ट्रहरूसँग सरकारी स्तरमा तथा निजी अनुसन्धान, नवप्रवर्तन केन्द्र र उद्योगहरूबीच सहकार्य सुदृढ गर्न सके नवप्रवर्तन, नयाँ प्रविधिको विकास र नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने अवसर सिर्जना हुने बताउनुभयो ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्मुलिक एरी बासले साइबर र कृत्रिम बुद्धिमत्तामा इजरायलको अनुभव नवप्रवर्तन, सिर्जनशीलता र प्रविधिको व्यावहारिक प्रयोगमा आधारित रहेको तथा हरेक चुनौतीलाई अवसरका रूपमा लिने गरिएको बताउनुभयो । उहाँले नेपालसँग यस्तो अनुभव साझा गर्दा नवप्रवर्तन र सहकार्यका नयाँ ढोका खुल्ने उल्लेख गर्दै गत ९ देखि १२ नोभेम्बर २०२६ सम्म नेपाली एआई तथा साइबर प्रतिनिधिमण्डलले गरेको इजरायल भ्रमणको समेत स्मरण गर्नुभयो ।

     

    कार्यक्रममा इजरायली विज्ञहरू—प्रिसिजन सिस्टम्सका सह-संस्थापक तथा सीईओ इटाई ड्यानेनबर्ग, भ्यालु कन्सल्टिङ ग्रुपका संस्थापक तथा सीईओ एरेज आर्य, अर्थ तथा उद्योग मन्त्रालयअन्तर्गतको राष्ट्रिय वृद्धि निर्देशनालयको हाई-टेक क्लस्टर प्रमुख इन्बाल मिन्कम्यान तथा माम्राम एलुमनाई एसोसिएसनका अध्यक्ष एवं फास्ट लेन इजरायलका सीईओ योसी मेलामेडले प्रस्तुतीकरण दिनुभएको थियो । इजरायली विज्ञहरूसँगको प्यानल छलफलमा जटिल चुनौती समाधान गर्न उन्नत प्रविधिको विकास र प्रयोगसम्बन्धी इजरायलको गतिशील नवप्रवर्तन प्रणालीबारे चर्चा गरिनुका साथै साइबर सुरक्षा र एआईमा नेपाल-इजरायल सहकार्यका सम्भावनाबारे अन्तरक्रिया भएको थियो । प्यानल छलफलमा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) का उपाध्यक्ष विभूषण विष्ट र कार्यसमिति सदस्य नारायण कोइरालाको पनि सहभागिता रहेको थियो ।

     

    कार्यक्रममा इजरायल राज्यको स्थापना तथा त्यहाँको उत्पादन र प्राविधिक क्षमता झल्काउने एआई-निर्मित भिडियोहरू समेत प्रदर्शन गरिएका थिए, जसले देशको विकास, नवप्रवर्तन र प्राविधिक यात्राको झलक प्रस्तुत गरेको थियो । ज्ञान आदानप्रदान, संस्थागत साझेदारी तथा प्रविधि र नवप्रवर्तन क्षेत्रका आदानप्रदानमार्फत नेपाल-इजरायल सहकार्यलाई थप सुदृढ बनाउन इजरायली दूतावास प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend