काठमाडौँ — नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य तथा अध्ययनका अवसरहरू विस्तार गर्ने उद्देश्यले सिलिकन एजुकेसन नेटवर्क र दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटी (Far East University) बीच औपचारिक रूपमा समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
फार इस्ट युनिभर्सिटीका प्रेसिडेन्ट डा. की इल ल्यू (Dr. Kee Il Lyu) को नेतृत्वमा भाइस चान्सलर तथा डीनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणका क्रममा उक्त सम्झौता सम्पन्न भएको हो। कार्यक्रममा सिलिकन एजुकेसन नेटवर्कका सह-संस्थापक विभास शमशेर कुँवरले भ्रमणमा आउनुभएका विश्वविद्यालयका विशिष्ट अतिथिहरूलाई औपचारिक स्वागत गर्नुभएको थियो।
हस्ताक्षर समारोहपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रेसिडेन्ट डा. की इल ल्यूले दुई संस्थाबीचको लामो साझेदारीको स्मरण गर्दै फार इस्ट युनिभर्सिटी र सिलिकन एजुकेसन नेटवर्कबीचको सम्बन्ध एक दशकभन्दा पुरानो रहेको जानकारी दिनुभयो।
डा. ल्यूले नेपाली विद्यार्थीहरूको शैक्षिक सफलता र हितका लागि विश्वविद्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार हाल फार इस्ट युनिभर्सिटीमा करिब ७०० नेपाली विद्यार्थी अध्ययनरत छन् भने नयाँ आउने विद्यार्थीहरूलाई सहज मार्गदर्शन, सांस्कृतिक घुलमिल तथा प्रशासनिक सहयोग प्रदान गर्न विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालय (International Office) मा नेपाली कर्मचारीहरूको समेत व्यवस्था गरिएको छ।
यो नयाँ समझदारीपत्रले दक्षिण कोरियामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि भर्ना प्रक्रियालाई थप सहज बनाउने, छात्रवृत्तिका अवसरहरू वृद्धि गर्ने तथा बृहत् शैक्षिक मार्गहरू प्रशस्त गर्ने लक्ष्य राखेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend