logo

२०८३ मंसिर ५ शुक्रबार

बेलायती उच्च शिक्षा र अध्यागमन नीतिबारे बृहत् छलफल गर्दै ‘कम्प्लायन्स कन्फ्रेन्स नेपाल’ सम्पन्न

बेलायती उच्च शिक्षा र अध्यागमन नीतिबारे बृहत् छलफल गर्दै ‘कम्प्लायन्स कन्फ्रेन्स नेपाल’ सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २ मंसिर २०८३
  • 377
    SHARES

    काठमाडौं — द अफिसियल रिप्रेजेन्टेटिभ (The Official Representative) को आयोजनामा ‘कम्प्लायन्स कन्फ्रेन्स नेपाल २०२६ (युके संस्करण)’ (Compliance Conference Nepal 2026 – UK Edition) आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। संयुक्त अधिराज्य (युके) को उच्च शिक्षा क्षेत्रमा विद्यमान नियामक मापदण्ड, विद्यार्थी भर्ना प्रक्रियाको विश्वसनीयता तथा संस्थागत अनुपालन (Compliance) का विषयमा बृहत् छलफल गर्ने उद्देश्यले आयोजित उक्त सेमिनारमा शिक्षा क्षेत्रका अगुवा, कानुनी परामर्शदाता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था द अफिसियल रिप्रेजेन्टेटिभका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. दिपक खड्काले सहभागीहरूलाई स्वागत गर्दै सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले नेपाली शैक्षिक परामर्शदाता संस्थाहरूले अन्तर्राष्ट्रिय कम्प्लायन्स मापदण्डबारे अद्यावधिक रहनु अपरिहार्य रहेको बताउनुभयो। पारदर्शी परामर्श र नियामक निर्देशनहरूको कडाइका साथ पालनाले मात्र विद्यार्थीको शैक्षिक भविष्य सुरक्षित हुने र विश्वबजारमा नेपालको विश्वसनीयता कायम रहने उहाँको भनाइ थियो।

    युकेको कानुनी तथा नियामक पक्षबारे जानकारी दिँदै रिमार्केबल ल कन्सल्टेन्सी लिमिटेड (युके) का संस्थापक प्रबन्ध निर्देशक मिस्टर पिटर डी. येटन (Mr. Peter D. Yetton) ले युके भिसा तथा इमिग्रेसन (UKVI) को संरचना र स्पोन्सर लाइसेन्स व्यवस्थापनबारे गहन प्रस्तुति दिनुभएको थियो। संस्थागत कम्प्लायन्स कायम राख्न शैक्षिक परामर्श साझेदारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले भिसा अस्वीकृति (Refusal) न्यूनीकरण गर्न र विश्वविद्यालयसँगको साझेदारी जोगाइराख्न कागजातको सूक्ष्म प्रमाणीकरण, वास्तविक विद्यार्थीको मूल्याङ्कन (Genuine Student Assessment) र पूर्व-जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    त्यसैगरी, विश्वविद्यालयको दृष्टिकोण प्रस्तुत गर्दै युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनकी पार्टनर रिलेसन्स एन्ड ग्रोथकी कार्यकारी निर्देशक सुश्री विधि मिस्त्री (Ms. Vidhi Mistry) ले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाका सन्दर्भमा बेलायती विश्वविद्यालयहरूको बदलिँदो अपेक्षाबारे चर्चा गर्नुभयो। विद्यार्थीको शैक्षिक सफलता र निरन्तरता सुनिश्चित गर्न नैतिक भर्ना अभ्यास, सही प्रस्थान-पूर्व तयारी (Pre-departure preparation) तथा बेलायती उच्च शैक्षिक संस्था र आधिकारिक नेपाली प्रतिनिधिहरूबीच दीर्घकालीन रणनीतिक सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

    सम्मेलनका विभिन्न सत्रहरूमा सहभागीहरूले परिवर्तित बेलायती अध्यागमन नीति र विश्वविद्यालयको अडिट मापदण्डअनुरूप स्थानीय परामर्श सेवालाई कसरी परिष्कृत गर्ने भन्ने विषयमा छलफल गरेका थिए। अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्र र रणनीतिक नेटवर्किङसँगै समापन भएको यस सम्मेलनले युके अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि पारदर्शिता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend