काठमाडौं । गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाका शान्ति, अहिंसा र मानवताका आदर्श विश्वभर फैलाउने उद्देश्यले गान्धी–मण्डेला फाउन्डेसन (जीएमएफ) को नेपाल च्याप्टर औपचारिक रूपमा सुरु भएको छ।
बुद्धको जन्मभूमि नेपालबाट सुरु गरिएको यस अभियानले शान्ति, करुणा, सहिष्णुता, समानता, मानव अधिकार र सामाजिक न्यायको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको फाउन्डेसनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप बलियो बनाउँदै युवा, विद्यार्थी, कलाकार तथा सामाजिक अभियन्ताबीच सहकार्य विस्तार गर्ने योजना बनाएको छ।
नेपाल च्याप्टरले आगामी दिनमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन, सांस्कृतिक आदानप्रदान, ‘युथ फर पिस’ अभियान तथा शान्ति र मानव सेवामा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
बुद्धको करुणा, गान्धीको सत्य र अहिंसा तथा मण्डेलाको समानता र मेलमिलापको आदर्शलाई व्यवहारमा उतार्दै नेपाललाई विश्व शान्ति र मानवीय सहकार्यको साझा केन्द्रका रूपमा चिनाउने फाउन्डेसनको दीर्घकालीन लक्ष्य रहेको छ।
‘शान्ति भनेको द्वन्द्व नहुनु मात्र होइन, मानवता, करुणा र आपसी सम्मानको उपस्थिति पनि हो’ भन्ने सन्देशसहित अभियान अघि बढाइने जनाइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend