logo

२०८३ कार्तिक ३० आइतबार

राष्ट्रिय आविष्कार केन्द्रद्वारा ‘युवा वैज्ञानिक कार्यक्रम २०२६’ आयोजना; युवा वैज्ञानिकहरूद्वारा आफ्ना नवीन खोज तथा आविष्कार प्रस्तुत

राष्ट्रिय आविष्कार केन्द्रद्वारा ‘युवा वैज्ञानिक कार्यक्रम २०२६’ आयोजना; युवा वैज्ञानिकहरूद्वारा आफ्ना नवीन खोज तथा आविष्कार प्रस्तुत


हाम्रो राष्ट्र
  • आइतबार, २३ कार्तिक २०८३
  • 1K
    SHARES

    काठमाडौँ,  राष्ट्रिय आविष्कार केन्द्र (National Innovation Centre – NIC Nepal) महावीर पुनद्वारा स्थापित एक गैर-नाफामुखी अनुसन्धान तथा नवप्रवर्तन संस्था हो। केन्द्रले शुक्रबार काठमाडौँस्थित आफ्नै परिसरमा ‘युवा वैज्ञानिक कार्यक्रम २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा युवा वैज्ञानिक, प्रविधि अन्वेषक, एनआईसीका पूर्वविद्यार्थी, शुभेच्छुक तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले गरेका थिए। उनको उपस्थिति र नेतृत्वले सरकारी नीति र नवप्रवर्तन बीचको सहकार्यलाई थप सुदृढ बनाएको छ।

    कार्यक्रमको आधिकारिक सुरुवात विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनका प्रमुख सल्लाहकार सञ्जय पौडेलको स्वागत मन्तव्यबाट भएको थियो। उनले उपस्थित सम्पूर्ण अतिथि, वैज्ञानिक तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने नीतिगत अवधारणाबारे प्रकाश पारेका थिए। स्वागत मन्तव्यपश्चात् आयोजित प्रस्तुति सत्रमा दिपेन्द्र बस्नेतले ‘मेडिकल ड्रोन डेलिभरी’, सञ्जयबहादुर सिंहले स्वदेशी स्वास्थ्य उपकरण ‘न्यानो नानी (बेबी वार्मर)’, प्रबिन बोहराले ‘डिजिटल भेन्डिङ मेसिन’, नासाका वैज्ञानिक राजेश पौडेलले ‘एयरबोर्न मेजरमेन्ट्स’, अमेरिकी वैज्ञानिक महेश पुनले ‘जलस्रोत व्यवस्थापन’ र विद्यार्थी अन्वेषक विनम्र कार्कीले नेपालको प्राविधिक विकासमा युवाको भूमिका विषयमा आफ्ना नवीन खोज तथा परियोजनाहरू प्रस्तुत गरेका थिए।

    माइक्रोसफ्टका सिनियर प्रिन्सिपल इन्जिनियर, एनआईसी युरोप प्रतिनिधि तथा ‘फ्रेंड्स अफ एनआईसी-यूके’ का सक्रिय निर्देशक हरिकृष्ण न्यौपानेले बेलायतबाट भर्चुअल माध्यममार्फत ‘इम्प्याक्ट, सीप, सुरक्षा र स्वास्थ्यका लागि प्रविधि’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रत्यक्ष सहभागी एनआईसी युरोप संयोजक तथा ‘फ्रेंड्स अफ एनआईसी-यूके’  निर्देशक हरि कार्कीले केन्द्रलाई दीर्घकालीन रूपमा दिगो र आत्मनिर्भर बनाउन उत्पादित सामग्रीहरूको प्रभावकारी ब्राण्डिङ र बजारीकरण गरी कोष वृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, उनले एक युवा वैज्ञानिकलाई आफ्नो खोज तथा अनुसन्धान कार्य निरन्तर अघि बढाउन सहयोगस्वरूप एक थान ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

     कार्यक्रमको औपचारिक समापन राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक एवं नेपाल सेनाका सेवा निवृत्त प्रमुख सेनानी सञ्जय झाले धन्यवाद ज्ञापन गर्दै गरेका थिए। उनले नेपालमा विज्ञान, प्रविधि र अनुसन्धानको प्रवर्द्धनमा योगदान पुर्‍याउने सम्पूर्ण प्रस्तोता, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गरे।

    Photo Archive

    Video Link

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend