ललितपुर, ललितपुरको कुसुन्तीस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा तीनदिने माछापुच्छ्रे मोडल युनाइटेड नेसन्स (एमएमयूएन) सम्मेलन सुरु भएको छ। ‘डिबेट, डिस्कस, डेलिभर अ बेटर टुमोरो’ अर्थात् बहस, छलफल र उज्ज्वल भविष्यको निर्माण भन्ने मूल नारासहित आयोजना गरिएको सम्मेलनले विद्यार्थीहरूलाई कूटनीति, आलोचनात्मक चिन्तन तथा विश्वव्यापी शासन व्यवस्थाका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
सम्मेलनको उद्घाटन माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष डा. बिनोद प्रसाद यादवले पवित्र तुलसीको बिरुवामा जल अर्पण गरेर गर्नुभएको थियो। उद्घाटन समारोहमा सम्मेलनकी प्रमुख सल्लाहकार सुप्रिया खड्काले यस्ता विद्यार्थी नेतृत्वका कार्यक्रमले भविष्यका नेतृत्वकर्ता निर्माण गर्न तथा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सम्मेलनकी महासचिव श्रीज्या महर्जनले तीन दिनसम्म सञ्चालन हुने बौद्धिक बहस, छलफल तथा सहमति निर्माणका गतिविधिप्रति उत्साह व्यक्त गर्नुभयो। उद्घाटन समारोहको सञ्चालन सर्वज्ञ महर्जनले गर्नुभएको थियो।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी विद्यार्थीहरूले विभिन्न समिति तथा मञ्चमार्फत विश्वव्यापी मुद्दाहरूमा छलफल तथा बहस गर्नेछन्। सम्मेलनमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (यूएनएचआरसी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी), संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (यूएनएससी), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), राष्ट्रिय संकट तथा विशेष समिति (एनएमएससी), अन्तर्राष्ट्रिय प्रेस (आईपी) र यूएन वुमनलगायतका समिति तथा मञ्च समावेश छन्।
सम्मेलन अवधिभर विद्यार्थीहरूले विभिन्न विश्वव्यापी समस्यामाथि गहन छलफल, प्रस्ताव निर्माण तथा कूटनीतिक वार्तामार्फत समाधानका उपाय खोज्नेछन्। यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य, संवाद तथा निर्णय निर्माणको सीप विकास गर्दै उनीहरूलाई सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend