logo

२०८३ साउन १४ बिहिबार

महिलाको शारीरिक–मानसिक स्वास्थ्यलाई प्राथमिकता: वडा २९ द्वारा रजनुवृति सम्बन्धी विस्तृत जनचेतना तालिम सम्पन्न

महिलाको शारीरिक–मानसिक स्वास्थ्यलाई प्राथमिकता: वडा २९ द्वारा रजनुवृति सम्बन्धी विस्तृत जनचेतना तालिम सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, १२ मंसिर २०८२
  • 2.7K
    SHARES

    काठमाडौँ:  पछिल्लो समय महिलाको स्वास्थ्यमा देखापर्ने रजनुवृति (मेनोपज) सम्बन्धी भ्रम, लाज र गलत समझाइलाई हटाउँदै काठमाडौँ महानगरपालिका वडा नम्बर २९ ले एकदिने स्वास्थ्य–साक्षरता तथा जनचेतनामूलक तालिम सम्पन्न गरेको छ। वडा महिला संजालद्वारा आयोजित यो कार्यक्रम वडावासी महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो, जसले महिनावारी रोकिने प्रक्रियालाई ‘समस्या’ वा ‘रोग’ होइन, प्राकृतिक जीवनचक्रका रूपमा बुझ्न सहयोग पुर्‍यायो।

    कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी भएकी डाक्टर शोभा महर्जनले रजनुवृति महिलाको जीवनमा आउने स्वाभाविक परिवर्तन भए पनि समाजले अझै यसलाई सामान्य रूपमा नबुझेकाले महिलाले अनावश्यक तनाव र स्वास्थ्य समस्या झेल्नुपरेको बताइन्। उनले १२ महिनासम्म महिनावारी रोकिनुलाई रजनुवृति मानिने स्पष्ट गर्दै यस अवधिमा आउने चिडचिडापन, तातो–चिसो हुने समस्या, मानसिक उतार–चढाव, निद्रा बिग्रिने जस्ता विषयमा विस्तृत जानकारी गराइन्। साथै, असामान्य लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गर्नुपर्नेमा उनले विशेष जोड दिइन्।

    कार्यक्रममा बागमती प्रदेशकी सांसद शान्ता ढकालले वडा २९ ले महिलाको वास्तविक स्वास्थ्य आवश्यकतालाई प्राथमिकता दिएर गरेको यो पहल प्रशंसनीय रहेको बताइन्। उनका अनुसार मेनोपज केवल महिलाको होइन, परिवारकै विषय भएकाले पुरुष र अन्य सदस्यले पनि यस्ता तालिममा सहभागी हुनुपर्छ। उनले भनिन्, “महिलालाई सहयोग, समझदारी र माया दिने वातावरण परिवारले बनाएन भने यो चरण अझ चुनौतीपूर्ण हुन सक्छ।”

    वडा सदस्य रेनु श्रेष्ठले आफू पनि रजनुवृति उमेर समूहमै रहेको महिलाका नाताले धेरै महिलाले भोग्ने समस्यालाई नजिकैबाट बुझेकै कारण यस्तो तालिम आयोजना गरिएको बताइन्। उनले वडाले विगतदेखि नै स्वास्थ्य, मेलमिलाप, सीप वृद्धि र सामाजिक उन्नतिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै रजनुवृति तालिम महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य सुधारसँग प्रत्यक्ष सम्बन्धित भएकाले विशेष महत्वपूर्ण रहेको बताइन्।

    तालिममा सहभागी महिलाहरूले आफ्नै शरीरमा हुने परिवर्तनबारे पहिले धेरै जानकारी नपाएको र विशेषज्ञ चिकित्सकबाट प्रत्यक्षरूपमा सुन्न पाउनु ठूलो अवसर भएको प्रतिक्रिया दिए। उनीहरूले मेनोपजसँग सम्बन्धित कुरा समाजमा अझै खुला रूपमा नबोलिने विषय भएकाले यस्तो कार्यक्रमले सही जानकारी, आत्मविश्वास र स्वास्थ्यप्रति सचेत बन्न मद्दत गरेको बताए।

    वडा २९ द्वारा सञ्चालन गरिएको यो कार्यक्रमले महिलालाई मात्र होइन, सिंगो समुदायलाई स्वास्थ्य–साक्षर बनाउने दिशा दिएको आयोजकले जनाएका छन्। महिलाको जीवनका महŒत्त्वपूर्ण चरणबारे समयमै सही जानकारी लिनु र परिवारले सहयोगात्मक वातावरण बनाउनु नै स्वास्थ्यपूर्ण जीवनका लागि आधार हुने सन्देश कार्यक्रमले दिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend