काठमाडौं, जापानीज भाषा स्कुल संघ नेपाल (जाल्सान) ले ११औं जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालस्थित जापानी दूतावास का डेपुटी चिफ अफ मिसन/काउन्सिलर शिन्तो यसुहारु को प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता काठमाडौंको अल्फा हाउस मा आयोजना गरिएको हो।
प्रतियोगितामा मिसाकी जापानिज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेसन सेन्टरका विशाल तामाङ प्रथम स्थान हासिल गर्दै ल्यापटप पुरस्कार प्राप्त गर्न सफल भए। त्यसैगरी ओसिस एजुकेसन कन्सल्टेन्सीका अमन कुमार यादव दोस्रो र ओपन भिजन एजुकेसन फाउन्डेसनका सुशान्त सापकोटा तेस्रो भए।
चौथो स्थानमा हार्डफोर्ड एजुकेसनकी प्रतीक्षा गुरुङ र कोकोरोजाशी जापानीज कल्चर एण्ड रिसर्च सेन्टरका इशाक मिया संयुक्त रूपमा विजयी भए।
प्रतियोगितामा दोस्रो हुनेलाई मोबाइल फोन र तेस्रो हुनेलाई ट्याबलेट प्रदान गरिएको थियो। विभिन्न जापानीज भाषा स्कुलका १५ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यसुहारुले जाल्सानद्वारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै यसले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले जापानी भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा यस्ता प्रतियोगिताको ठूलो योगदान रहने बताए।
कार्यक्रमका सभापति तथा जाल्सानका कार्यबाहक अध्यक्ष महेश श्रेष्ठले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै स्थापना कालदेखि नै जाल्सानले जापान अध्ययन गर्न चाहने विद्यार्थीहरूको भाषा दक्षता र क्षमताको विकासका लागि यस्तो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको जानकारी दिए। उनले आगामी दिनमा अझ परिस्कृत र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा जाइका नेपाल का प्रमुख माचुजाकी मिजुकी विशेष अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिताको सञ्चालन जाल्सानका महासचिव अरुण पाण्डे र सचिव कोषराज गिरीले नेपाली तथा जापानीज भाषामा गरेका थिए।
एभरेस्ट बैंक को प्रस्तुति रहेको उक्त प्रतियोगितालाई आर्या ट्राभल्स, स्काइलाइन ट्राभल एन्ड टुर्स, जेएलसीटी, साकुरा जापानिज ल्याङ्ग्वेज एकेडेमी, एसिया एजुकेशन ग्रुप, इवातानी बिजनेस स्कुल, रिलायबल लाइफ इन्स्योरेन्स, जेसर्ट, इस्ट ब्रिज, लेक सिटी इन्टरनेशनल र नेपाल ल्याब हाउसले प्रायोजन गरेका थिए।
अल्फा हाउस हस्पिटालिटी पार्टनर तथा सिटी पे पेमेन्ट पार्टनरको रूपमा रहेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend