logo

२०८३ साउन १४ बिहिबार

कवि कैलाश पोखरेलको छैटौँ कविता सङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण

कवि कैलाश पोखरेलको छैटौँ कविता सङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण


हाम्रो राष्ट्र
  • शनिबार, ६ असार २०८३
  • 2.6K
    SHARES

    काठमाडौं; कवि कैलाश पोखरेलको छैटौँ कविता सङ्ग्रह ‘स्मृतिका छालहरू’ एक समारोहका बीच लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा प्रा. डा. रामप्रसाद दाहालले उक्त कृतिको लोकार्पण गरेका हुन्।

    सो अवसरमा प्रमुख अतिथि दाहालले कवि पोखरेलले समसामयिक विषयवस्तुलाई रोजेर कविता सिर्जना गरेको बताए। उनका अनुसार कृतिभित्र समाजका विविध पाटा, राजनीति, सामाजिक नीति, विकृति–विसङ्गति, वेदना र संवेदनालाई चिरफार गर्दै सुधार र सुशासनको अपेक्षासहित कविता रचना गरिएको छ।

    कवि कैलाश पोखरेलले आफूलाई कविताका सिद्धान्तहरूको विशेष ज्ञान नभए पनि झ्याउरे शैलीका कविता लेख्दै आएको बताए। उनले पाठकलाई मनमा राखेर लेखिएका आफ्ना कविताहरू समेटिएको यो सङ्ग्रह सार्वजनिक हुन पाउँदा खुशी लागेको उल्लेख गरे।

    कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ समालोचक युवराज मैनालीले कवि पोखरेलले निकै मेहनतका साथ कृति तयार पारेको बताए। उनले भने, “यो कृति बोल्नुभन्दा पढ्नमा अझ बढी स्वादिलो छ भन्ने कुरा मैले पढ्दा अनुभव गरेको छु।”

    कार्यक्रममा कवि ठाकुर शर्माले कवितामार्फत कृतिको महत्वमाथि प्रकाश पारेका थिए। यस्तै अर्थविद् रेवतबहादुर कार्कीले कवि पोखरेलको साहित्यिक यात्रा सफल रहोस् भन्दै शुभकामना व्यक्त गरे।

    कार्यक्रममा कवि कृष्ण बाउसे, निर्मल पराजुली तथा कृष्णप्रसाद भट्टराईले कविता वाचन गरेका थिए। साहित्यकार हरिभक्त सिग्देल र विष्णु पन्तलगायतले शुभकामना मन्तव्य दिएका थिए।

    साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रेविका शर्माले दिएकी थिइन् भने सञ्चालन साहित्यकार सविन पोखरेलले गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend