काठमाडौं, असार १५ : काठमाडौं महानगरपालिका वडा नं. २९ को स्वास्थ्य विभागले डेंगी रोगको महामारी नियन्त्रण तथा रोकथामका लागि ‘लार्भा नष्ट गरौँ’ अभियान सञ्चालन गरेको छ।
‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत लामखुट्टेको बासस्थानको खोजी गरी लार्भा नष्ट गर्ने, पानी जम्ने सम्भावित स्थानहरूको पहिचान तथा सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

वर्षायामसँगै डेंगी संक्रमणको जोखिम बढ्ने भएकाले घर, कार्यालय, विद्यालय तथा सार्वजनिक स्थलमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने तथा लामखुट्टेले फुल पार्न सक्ने भाँडा, टायर, गमला, ड्रमलगायतका स्थानहरू सफा राख्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।

स्वास्थ्य विभागका अनुसार डेंगी नियन्त्रण सरकारी निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले समुदाय र नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। अभियानलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो घर, टोल तथा कार्यस्थल वरपर सरसफाइमा विशेष ध्यान दिई लामखुट्टेको प्रजननस्थल नष्ट गर्न सहयोग गर्न विभागले अनुरोध गरेको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend