logo

२०८३ कार्तिक १२ बुधबार

होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिक उत्सव सम्पन्न

होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिक उत्सव सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २६ साउन २०८३
  • 4.4K
    SHARES

    काठमाडौं । होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। संघले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्की जिल्लामा रहेका होस्टल व्यवसायीहरूलाई समेट्दै आफ्नो संस्थागत गतिविधि र व्यवसायिक एकतालाई थप सुदृढ बनाउँदै आएको छ।

    २०८३ साल साउन २५ गते सोमबार काठमाडौंको शंखमुलस्थित एवान पार्टी प्यालेसमा संघको चौथो वार्षिक उत्सव सम्पन्न भएको हो।

    वार्षिक उत्सवको अवसरमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। एभरेस्ट अस्पतालको स्वास्थ्य साझेदारी तथा सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा होस्टल व्यवसायी, कर्मचारी तथा अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहेको थियो।

    त्यसपछि दिउँसो १ बजेदेखि औपचारिक कार्यक्रम सुरु भएको थियो। संघका अध्यक्ष किरण शर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख राजस्व विभागका प्रमुख कामु दीपक अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दीपक अधिकारीले गर्नुभएको थियो। संघकी बिन्दिरा कुमारी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा एभरेस्ट अस्पतालका प्रमुख दीपक चन्द्र बराल ले मन्तव्य राख्नुभएको थियो।

    नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेसेन्टेटिभ्स (NAAER) का अध्यक्ष उद्धवबहादुर खड्काले शिक्षा क्षेत्रमा होस्टल तथा accommodation व्यवस्थापन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीका लागि गुणस्तरीय शिक्षा मात्र पर्याप्त नभई सुरक्षित, व्यवस्थित र सहज आवासको व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ।

    खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा होस्टल तथा accommodation सेवा विद्यार्थीको समग्र शैक्षिक यात्रासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। विशेषगरी विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सुरक्षित र भरपर्दो आवासको व्यवस्थाले उनीहरूको अध्ययन, मानसिक सहजता र दैनिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ थियो।

    उहाँले नेपालमा पनि होस्टल व्यवसायलाई शिक्षा प्रणालीको महत्वपूर्ण सहयोगी क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। होस्टल तथा accommodation व्यवसायी, शैक्षिक संस्था, शिक्षा परामर्शदाता र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन सकेमा विद्यार्थीलाई अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्न सकिने उहाँले बताउनुभयो।

    कार्यक्रममा अनुता ढकाल र जुनु ढकाल लगायतले समेत मन्तव्य राख्नुभएको थियो। उहाँहरूले होस्टल व्यवसायको वर्तमान अवस्था, व्यवसायीका चुनौती तथा आपसी सहकार्यका विषयमा धारणा राख्नुभएको थियो।

    वार्षिक उत्सवमा लोकप्रिय लोकगायक बद्री पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। उहाँको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप उत्साह र मनोरञ्जन प्रदान गरेको थियो।

    कार्यक्रममा संघको वार्षिक उत्सवको अवसरमा मायाको चिनो तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो। संघको स्थापना, विकास तथा संस्थागत गतिविधिमा योगदान पुर्‍याउने व्यक्तित्व तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।

    त्यसैगरी संघको चौथो वार्षिक उत्सवको केक काट्ने कार्यक्रम समेत सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू, संघका निवर्तमान अध्यक्ष तथा निर्वाचन प्रमुख रेवती कुमार खड्का लगायतले शुभकामना तथा मन्तव्य राख्नुभएको थियो।

    मन्तव्यका क्रममा वक्ताहरूले होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन व्यवसायीहरूबीचको एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो। उहाँहरूले होस्टल व्यवसायीका साझा समस्या तथा चुनौतीहरूको समाधानका लागि संस्थागत पहललाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

    होस्टल व्यवसायी संघ नेपालले काठमाडौं उपत्यकासहित मोरङ र कास्की लगायतका जिल्लामा रहेका होस्टल व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायीका साझा समस्या, अधिकार र व्यवसायिक हितका विषयमा निरन्तर पहल गर्दै आएको जनाएको छ।

    संघले आगामी दिनमा होस्टल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउँदै व्यवसायीहरूको पेशागत हित तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    रक्तदान, औपचारिक समारोह, सम्मान, सांस्कृतिक प्रस्तुति, केक काट्ने कार्यक्रम तथा शुभकामना आदानप्रदानसहित सम्पन्न चौथो वार्षिक उत्सवले होस्टल व्यवसायीहरूबीचको एकता, सहकार्य र संस्थागत सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

    कार्यक्रमको सञ्चालन संघका महासचिव देवराज कँडेलले गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend