काठमाडौँ। रसुवाका बाढीपीडितको उद्धार तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (DECAN) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका संस्थापक अध्यक्ष तथा DECAN का अध्यक्ष दीपक गुरुङको विशेष पहल एवं नेतृत्वमा उक्त परोपकारी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा Lions Club of Kathmandu Core City को सहकार्य र कान्तिपुर स्वास्थ्य सेवा हस्पिटलको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दीपक गुरुङले यस्ता सामाजिक तथा मानवीय कार्यले प्राकृतिक विपत्तिका बेला सरकारले गरिरहेको उद्धार र राहत प्रयासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए। “विपत्तिको समयमा सरकारको मुख मात्र नताकि निजी क्षेत्र र सामाजिक संस्थाहरूले पनि हातेमालो गर्नु नागरिक दायित्व हो। हामीले संकलन गरेको रगतले बाढीपीडित र अन्य घाइतेहरूको ज्यान बचाउनुका साथै सरकारी स्वास्थ्य संयन्त्र र रक्तसञ्चार सेवालाई ठूलो राहत पुर्याउनेछ,” गुरुङले भने।
उक्त बृहत रक्तदान कार्यक्रममा शैक्षिक परामर्शदाता, खेलाडी, युवा वर्ग तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी रक्तदाताहरूलाई धन्यवाद दिँदै आयोजकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा परोपकारी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend