logo

२०८३ भाद्र १७ बुधबार

बाढी-पहिरोको विनाशप्रति ऐक्यबद्धता जनाउन पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि इस्लामाबादस्थित नेपाली दूतावासमा

बाढी-पहिरोको विनाशप्रति ऐक्यबद्धता जनाउन पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि इस्लामाबादस्थित नेपाली दूतावासमा


हाम्रो राष्ट्र
  • सोमबार, १५ भाद्र २०८३
  • 728
    SHARES

    इस्लामाबाद — नेपाल-चीन सीमा क्षेत्रमा हिमनदी फुटेर तथा भीषण बाढीपहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै पाकिस्तानका राष्ट्रपतिका प्रतिनिधिहरूले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर गहिरो दुःख व्यक्त गरेका छन्।

    पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीको निर्देशनमा सिनेटका पूर्व अध्यक्ष सैयद नय्यर बुखारी र राष्ट्रपतिका प्रेस सल्लाहकार मुर्तजा सोलांगी सोमबार नेपाली दूतावास पुगेका हुन्। उनीहरूले पाकिस्तानी सरकार र त्यहाँका जनताका तर्फबाट शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुःखको यस घडीमा नेपालसँग पूर्ण ऐक्यबद्धता रहेको प्रतिबद्धता जनाए। पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले प्रतिनिधिमण्डललाई स्वागत गर्दै पाकिस्तान सरकार र जनताले देखाएको सद्भाव तथा ऐक्यबद्धताका लागि हार्दिक आभार व्यक्त गरिन्।

    भेटका क्रममा सैयद नय्यर बुखारी र मुर्तजा सोलांगीले दूतावासको शोक पुस्तिकामा (Visitors’ Book) आफ्नो सन्देश दर्ता गराएका थिए।पाकिस्तान र नेपालबीच विपद् व्यवस्थापन र मानवीय सहायतामा लामो समयदेखि सहकार्य रहँदै आएको छ।

    सन् २०१५ को विनाशकारी भूकम्पका बेला पनि पाकिस्तानले खोज तथा उद्धार टोली, फिल्ड अस्पताल, खाद्यान्न तथा आपतकालीन राहत सामग्रीहरू हवाई मार्गबाट नेपाल पठाएर सहयोग गरेको थियो। दक्षिण एसियाली क्षेत्रमा प्राकृतिक विपद्का समयमा एक-अर्कालाई सहयोग गर्ने परम्परा अनुसार पाकिस्तानले यस पटक पनि नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend