logo

२०८३ साउन १४ बिहिबार

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    दमक । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए ।

    काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए।

    अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उनले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको औंल्याए । ‘पेनप्लस’ कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी पाँचदेखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने डा कोइरालाको भनाइ थियो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले जनाए ।

    “रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसबाट अकाल मृत्यु टार्न सकिन्छ”, डा. कोइरालाले भने, “आर्थिकरूपमा कमजोर रहेर स्वास्थ्योपचार गराउन नसकेका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनुपर्ने अवस्थामा पनिसहयोग मिल्ने छ ।”

    उनका अनुसार दमकमा उपचार हुन नसके वा थप जाँच गर्नुपर्ने अवस्था भएमा यहाँबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न लागिएको छ । यसका लागि प्रारम्भिक चरणको सम्झौता भइसकेकाले एकजना सम्पर्क व्यक्तिसमेत राखिने छ ।

    छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा डा सञ्जीव शर्माले ‘पेनप्लस’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदा मानिसको अकाल मृत्युलाई रोक्न सकिने जानकारी दिए । उनले दमकबाट रेफर भएर गएका बिरामीको जाँच तथा उपचारका लागि आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता पनि जनाए ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत पेनप्लस कार्यक्रमका प्रमुख फणीन्द्रप्रसाद बरालले दमक र बर्दियामा नमूनाको रूपमा यो कार्यक्रम सुरु भइसकेको जानकारी गराए । यो अहिले नमूना परियोजनाको रूपमा दमकसहित सीमित ठाउँमा रहे पनि यसलाई विस्तार गरिँदै लैजाने उनको भनाइ थियो।

    दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोगको अनुसन्धानात्मक उपचारका लागि दमक अस्पतालमा कार्यक्रम सञ्चालन भइरहेकाले यसबाट लाभ लिन छिमेकी पालिकाका प्रतिनिधिलाई आग्रह गरिन् ।

     

    ‘पेनप्लस’ कार्यक्रमअन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाबारे  नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend