logo

२०८३ असोज २६ सोमबार

तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एन्ड भोकेसनल कलेजको १२औँ वार्षिकोत्सव तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एन्ड भोकेसनल कलेजको १२औँ वार्षिकोत्सव तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २५ असोज २०८३
  • 4.4K
    SHARES

    काठमाडौं, असोज २५ — तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एन्ड भोकेसनल कलेजले आफ्नो १२औँ वार्षिकोत्सव तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको धुम्बाराहीस्थित कार्यालय परिसरमा सम्पन्न गरेको छ। कार्यक्रममा कलेजका सञ्चालक, शिक्षक, विद्यार्थी तथा आरबी राइजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र केसीले सन् २०१४ मा स्थापना भएको संस्थाले नेपाली युवालाई जापानमा रोजगारीका अवसरका लागि आवश्यक जापानी भाषा, प्राविधिक सीप तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको बताउनुभयो। उहाँले जापानको श्रम बजारमा दक्ष जनशक्तिको मागअनुसार विद्यार्थीलाई तयार पार्नुका साथै विदेशमा प्राप्त सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न प्रोत्साहित गर्ने संस्थाको उद्देश्य रहेको उल्लेख गर्नुभयो।

    कलेजका सञ्चालक रमेश देवकोटाले जापानमा सफल व्यावसायिक जीवन निर्माण गर्न भाषिक दक्षता, कार्यस्थलको अनुशासन, व्यावसायिक नैतिकता तथा जापानी संस्कृतिको ज्ञान महत्त्वपूर्ण रहेको बताउनुभयो।

    त्यसैगरी, सञ्चालक महेश कुमार श्रेष्ठले जापानी भाषा अध्ययन, जेएफटी–बेसिक तथा जेएलपीटी एन४ र एन३ तहको तयारीबारे जानकारी दिनुभयो। उहाँले केयरगिभिङ, खाद्य सेवा, कृषि तथा प्राविधिक सीपसम्बन्धी तालिमले जापानमा रोजगारीको अवसर खोजिरहेका युवालाई आवश्यक तयारी गर्न सहयोग पुग्ने बताउनुभयो।

    कलेजका अर्का सञ्चालक अरुण पाण्डेले विद्यार्थीलाई आवश्यक परामर्श, प्राविधिक सुविधा तथा जापानमा रोजगारीका अवसरका लागि मार्गदर्शन प्रदान गर्ने संस्थाको प्रयासबारे चर्चा गर्दै सबैलाई दसैँको शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रममा आरबी राइजका परियोजना निर्देशक नोबुयुकी सुगावारा र परियोजना व्यवस्थापक विवेक भण्डारीले कलेजको १२औँ वार्षिकोत्सवका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले जापानमा रोजगारीका लागि जाने नेपाली युवालाई भाषिक तथा प्राविधिक रूपमा दक्ष बनाउन नेपालका तालिम प्रदायक संस्था र जापानी रोजगारदाता संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागीहरूले बडादसैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    यसै अवसरमा प्रबन्ध निर्देशक अमिता खड्गीले कार्यक्रममा सहभागी सबैलाई बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा निरन्तर सफलताको कामना गर्नुभयो।

    कलेजको १२औँ वार्षिकोत्सवले जापानी भाषा शिक्षा, सीपमूलक तालिम तथा नेपाली युवालाई अन्तर्राष्ट्रिय रोजगारीका अवसरका लागि तयार पार्ने संस्थाको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend