logo

२०८३ असोज २३ शुक्रबार

पाल्पाबाट मुस्लिम महिला प्रतिनिधित्वको सशक्त आवाज : जमिला मियाँ फेरि केन्द्रीय सदस्यको दौडमा

पाल्पाबाट मुस्लिम महिला प्रतिनिधित्वको सशक्त आवाज : जमिला मियाँ फेरि केन्द्रीय सदस्यको दौडमा


हाम्रो राष्ट्र
  • बिहिबार, २२ असोज २०८३
  • 1K
    SHARES

    काठमाडौं:  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै विभिन्न समुदाय, क्षेत्र र वर्गबाट नेतृत्वका आकांक्षीहरू चुनावी मैदानमा उत्रिएका छन्। यसै क्रममा मुस्लिम महिला समुदायको प्रतिनिधित्व गर्दै पाल्पाकी जमिला मियाँले पुनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मुस्लिम महिला कोटातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

    पाल्पा–२ बाट राजनीतिक यात्रा अघि बढाएकी मियाँ नेपाली कांग्रेससँग लामो समयदेखि सक्रिय रूपमा जोडिँदै आएकी नेतृ हुन्। उनी नेपाल मुस्लिम संघकी केन्द्रीय सदस्य समेत हुन्। पहाडी जिल्लाबाट मुस्लिम महिलाको प्रतिनिधित्व गर्दै पार्टीका लगातार चार महाधिवेशनसम्म आफ्नो उपस्थिति जनाउन सफल हुनु उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

    मियाँले नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाएकी थिइन्। १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका रूपमा निरन्तरता दिँदै मुस्लिम समुदायको राजनीतिक सहभागिता र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिन्।

    १४औँ महाधिवेशनमा उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मुस्लिम महिला कोटाबाट उम्मेदवारी दिएकी थिइन्। पहाडी जिल्ला पाल्पाबाट प्रतिनिधित्व गरेकी मियाँले त्यसबेला १ हजार ४ सय ४१ मत प्राप्त गर्दै उपविजेता बनेकी थिइन्।

    अघिल्लो महाधिवेशनमा प्राप्त मत र पार्टीभित्रको निरन्तर सक्रियतालाई आफ्नो राजनीतिक आधार बनाउँदै मियाँ यसपटक पनि १५औँ महाधिवेशनमा मुस्लिम महिला कोटाबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी छन्।

    पाल्पाजस्तो पहाडी जिल्लाबाट मुस्लिम महिलाको प्रतिनिधित्व गर्दै लगातार चारवटा महाधिवेशनमा सहभागी हुने नेतृका रूपमा मियाँको राजनीतिक यात्रा विशेष मानिएको छ। १४औँ महाधिवेशनमा पहाडी जिल्लाबाट उम्मेदवार भएर पनि उल्लेख्य मत प्राप्त गरेपछि यसपटक उनलाई देशभरका महाधिवेशन प्रतिनिधिहरूबाट समेत समर्थन र सद्भाव बढिरहेकोछ।

    मुस्लिम महिला समुदायको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म थप प्रभावकारी रूपमा पुर्‍याउने, संगठनमा समावेशी प्रतिनिधित्वलाई बलियो बनाउने र लामो समयदेखि पार्टीमा सक्रिय महिलालाई नेतृत्वमा स्थापित गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा रहेको मियाँले बताएकी छन्।

    नेपाल मुस्लिम संघमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकी मियाँ मुस्लिम समुदायको हक, अधिकार र राजनीतिक प्रतिनिधित्वका लागि निरन्तर सक्रिय रहँदै आएकि छन।

    चार महाधिवेशनको निरन्तर राजनीतिक यात्रा, अघिल्लो महाधिवेशनको उल्लेख्य मत र पहाडी जिल्लाबाट मुस्लिम महिला प्रतिनिधित्वको पहिचानका कारण जमिला मियाँको उम्मेदवारीलाई यसपटक पनि चासोका साथ हेरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend