काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै गएसँगै पार्टीभित्र विभिन्न पदका आकांक्षीहरूको चर्चा पनि बढ्दै गएको छ। यही क्रममा कांग्रेसको वैचारिक तथा बौद्धिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएकी डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ।
पार्टीभित्र नयाँ सोच, रूपान्तरण र पुस्तान्तरणको आवश्यकता औँल्याउँदै आउनुभएकी डा. भण्डारीले नेपाली कांग्रेसलाई समयअनुकूल, सुदृढ, आधुनिक र जनउत्तरदायी पार्टीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आउनुभएको थियो। सभापति गगन थापाले अघि सार्दै आउनुभएको ‘नवीन कांग्रेस’को अवधारणासँग आफ्नो राजनीतिक दृष्टिकोण जोडिएको उहाँले बताउँदै आउनुभएको छ।
कांग्रेसको विशेष महाधिवेशनका क्रममा पनि डा. भण्डारी सक्रिय रूपमा सहभागी हुनुभएको थियो। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेर काम गर्नुभएको उहाँसँग नीति, विचार, प्रशिक्षण तथा संगठनात्मक विषयमा लामो अनुभव रहेको छ। उक्त अनुभवलाई पार्टीका कार्यकर्तामाझ नयाँ विचार र नीतिगत बहस अघि बढाउन प्रयोग गर्दै आउनुभएको थियो।
बागमती प्रदेश कार्यसमितिमा रहेर समेत जिम्मेवारी निर्वाह गर्नुभएकी डा. भण्डारी समसामयिक राजनीतिक विषय, पार्टीभित्र देखिएका चुनौती, महिला सहभागिता तथा नेतृत्व विकासका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको थियो। राजनीतिक संगठनमा केवल संख्यात्मक उपस्थिति बढाउनेभन्दा पनि नीति निर्माण र निर्णय प्रक्रियामा सक्षम तथा वैचारिक व्यक्तिहरूको भूमिका प्रभावकारी हुनुपर्ने उहाँको धारणा रहँदै आएको छ।
कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर नीति, विचार र कार्यक्षमताका आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको थियो। नेतृत्व परिवर्तनसँगै पार्टीको कार्यशैली, संगठन निर्माण र जनतासँगको सम्बन्धमा समेत सुधार आवश्यक रहेको उहाँको बुझाइ छ।
१५औँ महाधिवेशनलाई केवल नयाँ नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई कांग्रेसको आगामी राजनीतिक दिशा र प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने डा. भण्डारीको धारणा रहेको छ। पार्टीको केन्द्रीय तहमा नयाँ पुस्ताका साथै महिला र वैचारिक रूपमा सक्रिय व्यक्तिहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उहाँले बताउँदै आउनुभएको थियो।
महिला नेतृत्वको विषयमा पनि डा. भण्डारीले लामो समयदेखि आवाज उठाउँदै आउनुभएको थियो। महिलाको सहभागिता केवल आरक्षण वा कोटामा सीमित नराखी पार्टीको नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व तहमा उनीहरूको क्षमता र योगदानका आधारमा भूमिका सुनिश्चित गर्नुपर्ने उहाँको मत रहेको छ।
कांग्रेसलाई समयअनुकूल बनाउन विचार, संगठन र नेतृत्व तीनै क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै आउनुभएकी डा. भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारीले पार्टीभित्र वैचारिक बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी पार्टी रूपान्तरण र पुस्तान्तरणको पक्षमा रहेका प्रतिनिधिहरूका लागि उहाँको उम्मेदवारी चासोको विषय बनेको छ।
आगामी महाधिवेशनमार्फत कांग्रेसले आफ्नो राजनीतिक दिशा स्पष्ट गर्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा भइरहेका बेला डा. भण्डारीको उम्मेदवारीलाई पनि पार्टीभित्र नयाँ सोच र वैचारिक नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend