logo

२०८३ असोज २५ आइतबार

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना हुँदै, १४ कोठामा सीसीटीभी

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना हुँदै, १४ कोठामा सीसीटीभी


हाम्रो राष्ट्र
  • शनिबार, २४ असोज २०८३
  • 637
    SHARES

    काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि सुरु गर्ने तयारी गरिएको छ। निर्वाचन समितिले उम्मेदवारहरूसँगको बैठकपछि मतगणना प्रक्रिया अघि बढाउने जनाएको छ।

    निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपास्थित १४ वटा कोठामा मतगणना गरिनेछ। मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन ती कोठामा सीसीटीभी जडान गर्ने तथा गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गर्ने काम भइरहेको छ।

    यसअघि शुक्रबार राति मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना गरिएको थियो। उक्त निर्वाचनमा गगनकुमार थापा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए। थापाले झन्डै ९४ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ।

    सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले निर्वाचनमा प्रतिस्पर्धा गरेका खड्गीसहित अन्य पदमा पराजित हुने उम्मेदवारहरूलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    पार्टीमा सबैको भूमिका र जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले निर्वाचनको परिणामलाई जित र हारमा मात्र सीमित गर्न नहुने धारणा राखेका थिए। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसालको उपस्थितिमा उनले पार्टी रूपान्तरणका लागि सबै नेता तथा कार्यकर्ता मिलेर काम गर्नुपर्ने सन्देश दिएका थिए।

    अब उपसभापति र महामन्त्री पदको मतपरिणामलाई कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियाको अर्को महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend