काठमाडौं: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई जनताको भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। १५औँ महाधिवेशनबाट नेतृत्वमा चयन भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले कांग्रेसको कार्यशैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताएका हुन्।
सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई व्यक्तिगत अधिकारका रूपमा नभई पार्टी र नागरिकप्रतिको उत्तरदायित्वका रूपमा लिएको स्पष्ट पारे। नेतृत्व परिवर्तन हुँदैमा पार्टी स्वतः परिवर्तन नहुने उल्लेख गर्दै उनले व्यवहार र काम गर्ने तरिकामा सुधार ल्याउनुपर्नेमा जोड दिए।
महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भन्दै थापाले अब जित र हारको मानसिकताबाट माथि उठेर सबै नेता तथा कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताए। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता थियो।
कांग्रेस र नागरिकबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो। किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टी निर्माण गर्ने लक्ष्य उनले प्रस्तुत गरे। कांग्रेसप्रति टाढिएका शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्दै जनताले आफ्ना घरआँगनमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
थापाले पार्टी परिवर्तनको आधार भाषण नभई व्यवहार र परिणाम हुनुपर्नेमा जोड दिए। महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सुझाव समेटेर आगामी केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट कार्ययोजना बनाउने तयारी रहेको पनि उनले जानकारी दिए।
कानुनी शासन र जवाफदेहिताको विषयमा स्पष्ट धारणा राख्दै सभापति थापाले कांग्रेसले गलत काम गर्ने व्यक्तिको बचाउ नगर्ने बताए। कुनै व्यक्तिले गल्ती गरे त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उल्लेख गर्दै उनले कानुन सबैका लागि समान हुनुपर्ने धारणा राखे।
कांग्रेसलाई व्यक्तिगत स्वार्थ र लाभभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। नयाँ नेतृत्वको सफलता पद परिवर्तनमा मात्र नभई पार्टीको व्यवहार, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिने परिवर्तनबाट मापन हुने उनको सन्देश थियो।
नागरिकको विश्वास पुनःअर्जन गर्दै कामबाटै परिवर्तन प्रमाणित गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थापाका लागि अब पार्टीलाई एकताबद्ध बनाउनु र जनअपेक्षाअनुसार परिणाम दिनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend