logo

२०८३ साउन १४ बिहिबार

ताप्लेजुङको दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

ताप्लेजुङको दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाँै र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

    यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो ।

    नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएका हुन् ।

    शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो ।

    गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए ।

    बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए ।

    जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend