काठमाडौं, – सन् २००१ देखि सिचुवान विश्वविद्यालयको आधिकारिक प्रतिनिधिका रूपमा कार्यरत न्युटोनियन साइन्स काउन्सेलिङ इन्स्टिच्युट प्रा.लि. (NSCI) ले काठमाडौंस्थित हिल्टन होटलमा सेमिनार तथा एलुम्नाई मिट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा भावी विद्यार्थी, पूर्वविद्यार्थी, र विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ अपराह्न ३:०० बजे सिचुवान विश्वविद्यालयको स्कलरसिपमा भर्ना भएका नेपाली विद्यार्थीहरूको सांस्कृतिक नृत्यबाट भयो। यिनै विद्यार्थीमध्ये युनिक श्रेष्ठले चिनियाँ भाषाको सुमधुर गायनले सम्पूर्ण दर्शकको मन जितिन्।
कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी प्रसिद्ध कार्डियोलोजिस्ट डा. मन बहादुर केसीले चीनको वुहान विश्वविद्यालयबाट आफ्नो अध्ययन यात्राको अनुभव बाँड्दै चिनियाँ मेडिकल विश्वविद्यालयहरूले विश्वभरि सशक्त करियरको ढोका खोल्ने बताउनुभयो।
सिचुवान विश्वविद्यालयका प्रतिनिधि मिस पु शी लू (डाइरेक्टर, इन्टरनेशनल स्टुडेन्ट्स अफिस), मिस ली होङ (MBBS कार्यक्रम संयोजक), र मिस्टर लिउ टिङ लिन (विद्यार्थी मामिला प्रमुख) ले विभिन्न सत्रमा विश्वविद्यालयको गुणस्तरीय शिक्षाप्रणाली, स्कलरसिप, एक्सचेञ्ज प्रोग्राम र विद्यार्थी जीवनको बारेमा प्रस्तुति दिनुभयो। मिस पु शी लूले विश्वविद्यालयको समग्र भिडियो प्रस्तुति दिनुभयो भने मिस ली होङले MBBS कार्यक्रमको विशेषता र आधुनिक शैक्षिक प्रविधिको बारेमा जानकारी दिनुभयो। मिस्टर लिउ टिङ लिनले चिनियाँ भाषा कार्यक्रम र संस्कृति सम्वन्धी अनुभव साझा गर्नुभयो।
विद्यार्थी अन्तरक्रियाको क्रममा आगामी सेप्टेम्बर इन्टेककी नया भर्ना MBBS विद्यार्थी रेडिमा लिम्बूले गम्भीर प्रश्नहरू राखेर प्रतिनिधिहरूसँग छलफल गरिन्।
एलुम्नाई सेसनमा डा. शशि शाहले आफ्नो MBBS, MS तथा सिचुवान विश्वविद्यालयबाट प्राप्त हेपाटोबिलियरी र प्यान्क्रियाटिक सर्जरीमा PhD को अनुभव बाँडे। हाल उनी करुणा अस्पतालमा सर्जनको रूपमा कार्यरत छन्। त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनमा पूर्ण छात्रवृत्तिका साथ स्नातक गरेका श्री त्सेवाङ गोन्पोले नेपालको हस्तनिर्मित सामग्री व्यवसायमा आफ्नो सफल उद्यमशीलताको कथा सुनाए। एलुम्नाई मिटले पूर्वविद्यार्थीहरूबीचको सम्बन्ध थप बलियो बनाउँदै नेपाल–चीन शैक्षिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend