logo

२०८३ कार्तिक ८ शनिबार

गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर

गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर


हाम्रो राष्ट्र
  • शुक्रबार, ३० असोज २०८३
  • 936
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा चिकित्सक, इन्जिनियर र प्राज्ञिक क्षेत्रका व्यक्तिहरू निर्वाचित भएका छन्।

    नयाँ केन्द्रीय कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर निर्वाचित भएको विवरणले पार्टीको नेतृत्व तहमा पेशागत तथा प्राविधिक क्षेत्रको प्रतिनिधित्व बढेको देखाएको छ। विशेष महाधिवेशनपछि विधान संशोधनमार्फत पेशागत क्षेत्र र विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो। सोहीअनुसार विभिन्न पेशा र विषयगत क्षेत्रका व्यक्तिहरू केन्द्रीय समितिमा पुगेका हुन्।

    पदाधिकारी तहमा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) तथा मुस्लिमतर्फ सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।

    खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने चिकित्सकमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ छन्। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल निर्वाचित भएका छन्।

    समावेशी समूहअन्तर्गत पनि चिकित्सक तथा इन्जिनियरहरूको प्रतिनिधित्व देखिएको छ। आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगालक्ष्मी अवाल निर्वाचित भएका छन्। दलित खुलातर्फ डा. डीबी सुनार केन्द्रीय सदस्य बनेका छन्।

    मधेशबाट खुला केन्द्रीय सदस्यमा डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित भएका छन्। खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारी केन्द्रीय सदस्य बनेका छन्। थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित भएका छन्।

    प्रदेशगत तथा युवा समूहमा पनि पेशागत क्षेत्रका व्यक्तिहरूको उपस्थिति उल्लेख्य छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भएका छन्। बागमती प्रदेशको खुला केन्द्रीय सदस्यमा प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल निर्वाचित भएका छन्।

    गण्डकी प्रदेशबाट ३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्त तथा खुला युवा समूहमा इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट ३५ वर्षमुनिका युवाको खुला समूहमा इन्जिनियर भुवनराज भट्ट निर्वाचित भएका छन्। सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यतर्फ इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भएका छन्।

    नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र केन्द्रीय सदस्य बनेका छन्। पेशागत तथा विषयगत क्षेत्रको महिला सदस्यमा डा. सीता पोखरेल (घिमिरे) र डा. बाला अधिकारी निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

    चिकित्सा, इन्जिनियरिङ, शिक्षा, पूर्वाधार, विज्ञान तथा प्रविधिलगायत क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले पार्टीको नीति निर्माण र संगठनात्मक काममा विषयगत ज्ञान उपयोग गर्ने अवसर प्रदान गर्न सक्छ। पेशागत दक्षता र राजनीतिक नेतृत्वबीचको समन्वयले जनताका आवश्यकता सम्बोधन गर्ने नीति तथा कार्यक्रम निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

    गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर, युवा तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्वले कांग्रेसमा नेतृत्व र संगठनलाई थप समावेशी तथा विज्ञतामुखी बनाउने सम्भावना देखाएको छ। यद्यपि, यी विज्ञहरूले आफ्नो अनुभव र ज्ञानलाई पार्टीका नीति, कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयमा कसरी उपयोग गर्छन् भन्ने कुराले उनीहरूको वास्तविक योगदान निर्धारण गर्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend