logo

२०८३ मंसिर १० बुधबार

अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण सुरु

अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण सुरु


हाम्रो राष्ट्र
  • बुधबार, १० मंसिर २०८३
  • 507
    SHARES

    काठमाडौं: अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास र उनीहरूको आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा विशेष विद्यालय तथा अनुसन्धान केन्द्र निर्माणको काम अघि बढाएको छ।

    बुधबार बिहान काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा नं. २९ का वडाध्यक्ष कुश ढकाललगायत जनप्रतिनिधि तथा स्थानीयवासीको ठूलो उपस्थितिमा जग पूजा गरी प्रस्तावित पाँचतले भवन निर्माणको औपचारिक सुरुवात गरेकी हुन्।

    निर्माण सम्पन्न भएपछि यस केन्द्रमार्फत अटिजम भएका बालबालिकालाई शिक्षण तथा सीपमूलक गतिविधि सञ्चालन गर्नुका साथै तालिम, अनुसन्धान र अभिभावक परामर्शका कार्यक्रमसमेत अघि बढाइनेछ।

    १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा बन्ने भवनमा सिकाइ तथा प्रशिक्षणका लागि छुट्टाछुट्टै कक्ष, प्रशासनिक र अनुसन्धानसम्बन्धी कार्यस्थल, बालबालिकाका लागि खेल क्षेत्र, लिफ्ट तथा अपाङ्गमैत्री शौचालय रहनेछन्।

    यस परियोजनाका लागि १० करोड ९१ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको थियो। निर्माणको ठेक्का भने ९ करोड ७७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको छ। निर्धारित कार्यतालिकाअनुसार २०८४ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    शिलान्यासका क्रममा कार्यवाहक प्रमुख डंगोलले अपाङ्गता वा अटिजमका कारण बालबालिकाले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने धारणा राखेकी थिइन्।

    महानगरको यो योजना विद्यालय सञ्चालनमा मात्र सीमित नरही अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई सहयोग पुर्‍याउने तथा यस क्षेत्रको अध्ययन र अनुसन्धानलाई समेत अघि बढाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend