logo

२०८३ मंसिर १० बुधबार

बागमती प्रदेश बुद्धिचाल छनोट र्‍यापिड तथा ब्लिट्ज सम्पन्न

बागमती प्रदेश बुद्धिचाल छनोट र्‍यापिड तथा ब्लिट्ज सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, १० मंसिर २०८३
  • 442
    SHARES

    मंसिर ९, ललितपुर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल विधाको र्‍यापिड तथा ब्लिट्ज छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिताबाट दुवै विधाका पुरुष तथा महिला खेलाडी छनोट भएका छन्।

    राष्ट्रिय खेलकुद परिषद्ले क्लासिकल, र्‍यापिड तथा ब्लिट्ज विधामा दुई पुरुष र दुई महिला खेलाडी छनोट गर्ने प्रावधानअनुसार बागमती प्रदेशबाट कुल १२ खेलाडी छनोट भएका हुन्।

    क्लासिकल विधाको पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठ र सुरोज महर्जन छनोट भएका छन्। र्‍यापिडतर्फ चितवनका सत्यम शर्मा र दोलखाका राजीव कार्की तथा ब्लिट्जतर्फ काठमाडौंका सीएम नवीन तण्डुकार र काभ्रेका शैलेन्द्र न्यौपाने छनोट भएका छन्।

    महिलातर्फ क्लासिकल विधामा ग्लोसी र नेलिसा ओझा, र्‍यापिडमा चितवनका लक्ष्मी कँडेल र दीपाञ्जली नगरकोटी तथा ब्लिट्जमा ओजस्वी श्रेष्ठ र परिधि खत्री छनोट भएका छन्।

    र्‍यापिड विधाको सात चरणको प्रतिस्पर्धामा पुरुषतर्फ चितवनका सत्यम शर्मा ६ अंकसहित प्रथम भएका छन्। दोलखाका राजीव कार्की ५.५ अंकसहित दोस्रो हुँदा नुवाकोटका सुरेन्द्र लामा समान ५.५ अंक प्राप्त गरी टाइब्रेकका आधारमा तेस्रो भएका छन्।

    महिलातर्फ चितवनकी लक्ष्मी कँडेल ५ अंकसहित प्रथम, काठमाडौंकी दीपाञ्जली नगरकोटी ४.५ अंकसहित दोस्रो तथा रामेछापकी ओजस्वी श्रेष्ठ ४ अंकसहित तेस्रो भएकी छन्।

    ब्लिट्ज विधाको पुरुषतर्फ काठमाडौंका नवीन तण्डुकार ६ अंकसहित प्रथम भएका छन्। काभ्रेका शैलेन्द्र न्यौपाने ५.५ अंकसहित दोस्रो तथा काठमाडौंका मोहम्मद इमरान खान ५ अंकसहित टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे।

    महिलातर्फ ओजस्वी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै सात चरणमा ६.५ अंक हासिल गरी प्रथम स्थान प्राप्त गरिन्। काठमाडौंकी परिधि खत्री ६ अंकसहित दोस्रो तथा ललितपुरकी सुवेच्छा घिमिरे ४.५ अंकसहित तेस्रो भएकी छन्।

    प्रतियोगिता सम्पन्न भएपछि विजेता तथा छनोट भएका खेलाडीलाई नेपाल बुद्धिचाल महासंघका प्रवक्ता एवं प्राविधिक संयोजक राजु ताम्राकारले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। उनले दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरे।

    दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने छनोट भएका खेलाडीहरूले अब राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend