logo

२०८३ साउन १३ बुधबार

अब ‘भ्रुण वायोप्सी’ सेवा नेपालमा

अब ‘भ्रुण वायोप्सी’ सेवा नेपालमा


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रुण वायोप्सी’ सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।

    केन्द्रका सञ्चालक डा अजयजङ्ग कुँवरले यसअघि भारतबाट भ्रुण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिए ।

    उनले चाँडै भ्रुण वायोप्सी सेवा सुरु गर्ने जानकारी दिए । भ्रुण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वाङ्शानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छ/छैन भन्ने कुरा पत्ता लगाइन्छ । सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।

    “आइभिएफबाट बच्चा जन्माउँदा भ्रुण वायोप्सी गर्नका लागि भारतबाट जनशक्ति मगाउँदा परिवारलाई रु दुईदेखि तीन लाख बढी खर्च हुने गर्दथ्यो”, उनले भने, “हामीसँग दक्ष जनशक्ति भएपछि अब निःसन्तान परिवारको उक्त रकम जोगिन्छ ।”

    केन्द्रमा इम्ब्रोयोलोजिष्ट डा कुँवर र डा सम्झना फूँयाल रहनु भएको छ । आइभिएफ प्रविधिबाट भ्रुण आमाको पेटमा राख्नुभन्दा अगाडि भ्रुणमा अनुवाङ्शिक रोग छ वा छैन भन्ने कुरा पनि प्रि–इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ विधिबाट पत्ता लाग्ने सञ्चालक कुँवरले बताए ।

    यस्तै नेपालमा अहिले पनि निःसन्तान हुने बाँझोपन पुरुषमा पनि बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, अत्यधिक गर्मी ठाउँमा काम गर्ने भएकाले पुरुषमा पनि बाँझोपन बढ्दै गएको हो ।

    पुरुषको शुक्रकिटको कमी, शुक्रकिटको गतिशीलता कमी, शुक्रकिटमा भएको खराबी, शुक्रटिक आपूर्ति हुने नलीमा अवरोधजस्ता कारणले बाँझोपन बढ्दै गएको निःसन्तान रोग विशेषज्ञ डा निकिता दाहालले बताइन् । यस्तै हार्मोनको गडबडी उच्च तापक्रमको वातावरण वशाङ्णुगत समस्याका कारणले पनि पुरुषमा बाँझोपन बढ्दै गएको छ ।

    उनका अनुसार निःसन्तान हुने कूल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ । पहिले २० प्रतिशत रहेको थियो । यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको छ ।

    यस्तै महिलामा अस्वथ्यकर खाना, पाठेघरको नली बन्द हुनु कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु, मोटोपना, बढ्दो उमेर मद्यपान तथा धुम्रपानको सेवन गर्दा निःसन्तान हुने समस्या देखिने गर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend