काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
“हालसम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था/अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाई मन्त्रालयमा पत्राचार गर्न हुन र सो नभएको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ”, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ ।
मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।
यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।
परिपत्रमा मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले अस्पतालमा बिरामी वा बिरामीको कुरुवाले आवश्यकताअनुसार जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने बताइन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend