logo

२०८३ साउन १५ शुक्रबार

रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह

रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • सोमबार, १० मंसिर २०८१
  • 2.5K
    SHARES

    भक्तपुर:  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।
    मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न आधुनिक भवनको आज शिलान्यास गर्दै उहाँले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने उल्लेख गर्दै रोग लाग्नु अगाडि नै समयसमयमा ल्याब परीक्षण गरेर स्वास्थ्यका बारेमा चासो दिनुपर्ने बताउनुभयो ।
    उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “स्वास्थ्य भन्ने कुरा आफू वा आफ्नो परिवारमा कोही बिरामी नपरी नबुझिने रैछ, आफैँ बिरामी भएपछि मात्रै भोग्नुपर्ने समस्याका बारेमा राम्रैसँग थाहा हुँदोरैछ, परिवारमा कोही बिरामी परेपछि कति पीडा, चिन्ता र समस्या हुन्छ भन्ने बुझिँदो रैछ, त्यसैले रोग लाग्नु अगाडि नै सचेत हुनुपर्ने रहेछ ।” उहाँले नेपाल र कोरियाबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै यो अस्पतालले अझै भूमिका खेलेकाले अस्पतालले दिने सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले नेपालकै पहिलो नगर अस्पतालका रुपमा स्थापना भएको यस अस्पतालले भक्तपुरको मात्रै नभई देशभरकै बिरामीको उपचार गर्नसक्ने गरि विकास गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट अस्पताल बनाउन मेडिकल टोलीदेखि सबै कर्मचारीले सेवालाई चुस्त राख्नुपर्ने जनाउँदै उहाँले नर्सिङ कलेज सञ्चालन गरेर शैक्षिक क्षेत्रमा पनि अस्पताल अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङ्ग पार्कले कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा यसअघि पनि सहयोग पुर्याउँदै आएको स्मरण गर्दै यो अस्पतालको स्थापनाकालदेखि हालसम्म कोरियाको सहयोग निरन्तर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अस्पतालको सुरुदेखि हालसम्म दक्षिण कोरियाले सहयोग गर्दै आएको छ, अहिले पनि भवन निर्माणका लागि नौ दशमलव पाँच मिलियन अमेरिकी डलर कोरिया सरकारले सहयोग गरेको छ, कोरिया सरकारले यस अस्पतालका लागि आफ्नै खर्चमा विशेषज्ञ चिकित्सक सहयोग गरेको छ, अस्पतालले यहाँ आउने बिरामीले मेडिकल सेवा गुणस्तरीय रुपमा पाउनेछन् भन्ने विश्वास लिएका छौँ ।”कोरिया र नेपालबीचको सम्बन्ध निकै राम्रो रहँदै आएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि दुई देशबीच सहयोग आदानप्रदान हुने बताउनुभयो ।
    कार्यक्रममा कोरियाका डेपुटी कन्ट्री डाइरेक्टर ई युन सङ्गले समयमै अस्पताल भवन निर्माण सम्पन्न गरेर सवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै कोरियाले यसअघि जस्तै अस्पताललाई सहयोग जारी राख्ने बताउनुभयो ।
    नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पताललाई दक्षिण कोरियाले पुर्याउँदै आएको सहयोग दुई देशबीचको मित्रताको प्रतीक भएको जनाउँदै दीर्घकालीन रुपमा दुई देश एवं अस्पताल बीचको सम्बन्ध निरन्तर सहयोगात्मक र मित्रवत् रहने बताउनुभयो ।
    नगर प्रमुख एवं कार्यक्रमका सभापति सुरेन्द्र श्रेष्ठले कोरिया सरकारको करिब रु एक अर्ब २८ करोड बराबरको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीलगायत आसपासका जिल्लावासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको बताउनुभयो ।
    उहाँले यस अस्पतालबाट विगतका वर्षमा वार्षिक एक लाख सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आइरहेकामा गत वर्ष झन्डै दोब्बर अर्थात् एक लाख ९२ हजार बिरामीलाई सेवा प्रवाह गर्र्दै नेपाल सरकारको सेकेन्डरी बी अस्पतालका रुपमा स्तरोन्नति गर्न न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा गरिएको बताउनुभयो ।
    विभिन्न सेवा सञ्चालन गर्दै आइरहेको अस्पतालले बाहिरका नगरपालिकाका अस्पताल एवं जिल्लामा समेत सेवा प्रवाह, घुम्ती सेवा सञ्चालन गरेको जनाउँदै आगामी दिनमा घरदैलो स्वास्थ्य सेवा, सम्पूर्ण नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा, मानव अङ्ग प्रत्यारोपण सेवा, क्याथ ल्याब, एमआरआई सेवा, नर्सिङ कलेज, पारामेडिक्स कोर्स सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख श्रेष्ठले बताउनभयो ।
    कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा डिके रौशनले अस्पतालले हाल दिँदै आएको सेवा र आगामी दिनमा विस्तार गर्ने सेवाका बारेमा जानकारी दिनुभयो । नयाँ भवन आगामी दुई वर्षमा सम्पन्न हुने र सेवा विस्तारमा सहज हुने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend