बेसीशहर, लमजुङ। जन्मदिनमा वृक्षरोपण अभियान नेपाल (Birthday Plantation Campaign Nepal) को सातौँ वार्षिकोत्सव तथा पाँचौँ स्थापना दिवसको अवसरमा बेसीशहर, लमजुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। बेसीशहर नगरपालिकाको सहयोगमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख गुमान सिंह अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षरोपणमार्फत वातावरण संरक्षणमा पुर्याइँदै आएको योगदान, अभियानका उद्देश्य तथा हालसम्मका उपलब्धिबारे विस्तृत चर्चा गरिएको थियो।

सो अवसरमा अभियानलाई प्रारम्भदेखि निरन्तर समर्थन गर्दै देश तथा बिदेश सम्म सञ्चार माध्यममार्फत प्रचार–प्रसारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन स्वरूप स्व. प्रतापशाली ईश्वरी पन्त अक्षयकोष पुरस्कारबाट सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम प्रस्तुता रोजी ढकाल पराजुली र माउन्टेन टेलिभिजनका सम्पादक मोहनप्रसाद मैनाली लाई स्वर्गीय देवी खनिया स्मृति अक्षयकोष बाट नगद पुरस्कारसहित सम्मानित गरिएको थियो। आयोजकले यस सम्मानले सञ्चार क्षेत्रमा वातावरण संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूको भूमिका अझ प्रष्ट भएको जनाएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा चिति वृक्षरोपण नर्सरीमा लामो समयदेखि सेवा गर्दै आएका दामोदर रेग्मी र कमला रेग्मी लाई अर्धशताब्दी लामो योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।
अभियानका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष बासुदेव सेढाई को जन्मदिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा गीत, नृत्य, कविता र भजनमार्फत वृक्षरोपण तथा वातावरण संरक्षणको महत्व उजागर गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने स्थानीय सरकार, सुरक्षा निकाय, विभिन्न संघ–संस्था, विद्यालय, आमा समूह तथा सम्पूर्ण प्रकृति र वातावरणप्रेमी शुभचिन्तकहरूप्रति अभियान परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै अध्यक्ष सेढाईले आगामी दिनहरूमा पनि निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा रहेको जानकारी दिनुभएको छ।

विशेषगरी अभियानले मानवसेवा आश्रम लमजुङ, सर्वोदय सेवा आश्रम लमजुङ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङ लाई प्रारम्भदेखि सहयोग पुर्याएकोमा सम्मान गरेको छ। त्यस्तै, कार्यक्रममा योगदान पुर्याउने संघ–संस्था तथा व्यक्तित्वहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend