काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त आदिवासी समुदाय भएको बताए ।
‘जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन । राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्छ । धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ’, ओलीले भने, ‘देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ । राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन ।’
संविधानसभा सदस्य नजिर मियाँद्वारा लिखित सङ्घर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा राख्दै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताए ।
उनले मियाँलाई अझ ज्ञानवर्द्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । उनले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend