काठमाडौँ — गत भदौ १० (अगस्ट २६) मा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका दुर्गम बस्तीहरूमा मानवीय सहायता तथा राहत वितरण कार्य निरन्तर जारी छ। यसैक्रममा चिनियाँ गैरसरकारी संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ (CFRD) ले बाढीपीडित समुदायलाई लक्षित गरी आपत्कालीन राहत सामग्री वितरणलाई तीव्र पारेको छ।
फाउन्डेसनको टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका बाढीप्रभावित अति दुर्गम क्षेत्रमा पुगेर खाद्यान्न, स्वास्थ्य तथा पोषण सामग्री वितरण गरिरहेको छ। बाढीबाट विस्थापित भएका परिवारलाई पूर्ववत् अवस्थामा फर्कन लामो समय लाग्ने भएकाले टोलीले तत्कालका लागि स्वास्थ्य समस्या तथा कुपोषणको जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको फाउन्डेसनका प्रतिनिधिहरूले जनाएका छन्।

विद्युत् सेवा अवरुद्ध भएका तथा पहुँच कठिन रहेका बस्तीहरूलाई विशेष ध्यानमा राख्दै फाउन्डेसनले दैनिक उपभोग्य खाद्यान्न (चामल, दाल, तेल) र स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती (सोलर ल्याम्प) समेत हस्तान्तरण गरेको छ। संस्थाले स्थानीय विपद् व्यवस्थापन निकायहरूसँग समन्वय गरी आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend