ललितपुर: ललितपुरको कुसुन्ती हाइटस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलले कक्षा ९ का विद्यार्थीहरूका लागि ‘क्लास डे’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीहरूमा अन्तरनिहित सिर्जनात्मक, सांस्कृतिक तथा अतिरिक्त प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रम श्रीधर ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यसैगरी, अमेरिकामा ३० वर्षसम्म कम्प्युटर इन्जिनियरिङ क्षेत्रमा कार्यअनुभव हासिल गर्नुभएका उज्ज्वल भट्टराई तथा सुनिता ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।उद्घोषकको औपचारिक सञ्चालनसँगै सुरु भएको कार्यक्रममा सभापतित्व ग्रहण, राष्ट्रिय गान र परम्परागत तुलसीको मठमा जल अर्पण गरिएको थियो। तत्पश्चात् विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. विनोदप्रसाद यादवले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुभएको थियो।कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू पस्किएका थिए।

जसमा ‘सेनियरिटा’ गीतको अर्केस्ट्रा धुन, पुष्पगुच्छासहितको भरतनाट्यम नृत्य, जिम्न्यास्टिक प्रदर्शन, तथा ब्वाइज ब्यान्डको ‘टाइमै भने’ गीतको प्रस्तुति समावेश थियो। यसैगरी, नेपालको सांस्कृतिक विविधता झल्काउने थारू नृत्य, ‘माया पिरती’ गीतको प्रत्यक्ष सांगीतिक प्रस्तुति, तेक्वान्दो प्रदर्शन, र आधुनिक नृत्यले कार्यक्रममा थप रौनक थपेका थिए।विद्यार्थीहरूले तयार पारेका कलाकृतिहरूको प्रदर्शनी (आर्ट्स एक्जिबिसन) समेत गरिएको उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्यले सम्बोधन गर्दै विद्यार्थीहरूलाई किताबी ज्ञानका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढ्न प्रेरणा दिनुभयो।नेपालका विभिन्न भाषा, संस्कृति र परम्परालाई समेटेर तयार पारिएको सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम समापन भएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व, सहकार्य, र रचनात्मक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend