logo

२०८३ असोज ८ बिहिबार

ईपीजीकोबारेमा मैले आफ्नो ढंगले कुरा गरेको छुः प्रधानमन्त्री

ईपीजीकोबारेमा मैले आफ्नो ढंगले कुरा गरेको छुः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण फलदायी भएको बताएका छन् । शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

    प्रधानमन्त्रीले नेपाल–भारतबीचको सीमा समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,’यसबारे मैले प्रधानमन्त्री मोदीसँग खुलेर कुरा राखेको छु । उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो। उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनुभएको छ। सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु ।’

    उनले भ्रमणका दौरान विद्युतीय क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले विद्युतीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले एउटामात्र नभई भारतबाट कम्तिमा तीन एयर रुटका विषयमा छलफल भएको बताए ।

    प्रधानमन्त्रीले भारतीय पक्षसँग ईपीजीको विषयमा कुराकानी भएको बताए। उनले भने,’ईपीजीकोबारेमा मैले आफ्नो ढंगले कुरा गरेको छु । यसलाई अहिले बढी उचालेर आर्थिक र दुई पक्षीय सहयोग विस्तारको वातावरण बिगार्नु उचित थिएन। हामीले जुन तरिकाले कुरा गर्नुपर्ने हो, त्यो तरिकाले कुरा गरिएको छ। वातावरणलाई सहज बनाउँदै लैजाँदा सबै चिज हुँदै जान्छ भन्ने मलाई विश्वास छ ।’

    प्रधानमन्त्रीले आफूले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुरा गरेको बताए । उनले भने,’नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेँ। यति बुझ्नुहोला।’

    प्रधानमन्त्रीले उज्जैनको धार्मिक स्थलमा गेरू वस्त्र नलगाएको भए भारतीयको मनमा चिसो पस्ने भएकाले आफूले गेरुवस्त्र लगाएको बताए । उनले यसलाई धार्मिक कूटनीतिको रूपमा लिन पनि आग्रह गरे ।

    उनले भने,’सेक्युरिटीले नलगाउन पाए हुन्थ्यो भनेर बल लगाए । तर त्यहाँ अतिथिले त्यो लगाउनुपर्ने प्रोटोकल रहेछ । म कम्युनिष्टमात्रै होइन प्रधानमन्त्री पनि हो नि।’ मैले नलगाउँदा भारतका करोडौं मान्छेको मनमा चिसो पस्थ्यो। यसलाई एउटा संस्कृतिको कूटनीतिको रूपमा लिऔं।’

    प्रधानमन्त्रीले आफू मुस्लिमहरूको मस्जिदमा, क्रिश्चियनको चर्च, बुद्धिस्टको धार्मिक स्थल लगायतमा समेत गएर प्रार्थना गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend