logo

२०८३ साउन १४ बिहिबार

वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो

वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 767
    SHARES

     

    वीरगञ्ज । पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् ।

    वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र  सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् ।

    आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ६० अर्ब ९७ करोड दुई लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६० दशमलव २० प्रतिशत अर्थात् एक खर्ब ५७ अबै आठ करोड मात्र राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिए । यो अघिल्लो दुई आर्थिक वर्षको भन्दा कम राजस्व सङ्कलन भएको हो ।

    भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आर्थिक तरलता प्रमुख कारक रहेको  उनको  भनाइ छ ।

    विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दी, पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन र औद्योगिक कच्चापदार्थको आयातमा आएको कमीले राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख पन्थीले बताए ।

    यस्तै पर्साको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । आर्थिक वर्ष २०७९/८० मा  ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा  ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार मात्र राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए ।

    सो भन्सारले अघिल्लो आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend