logo

२०८३ असोज ८ बिहिबार

उत्तर कोरियाको सामना गर्ने योजना बनाउन अमेरिकामा सम्मेलन हुने

उत्तर कोरियाको सामना गर्ने योजना बनाउन अमेरिकामा सम्मेलन हुने


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.1K
    SHARES

    दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    “कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ,” राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ ।

    सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो ।
    प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छभने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् ।

    छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन् । उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् ।

    यदि प्योङयाङले आफ्नो आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारले नै जवाफ दिएर उसको शासन नै अन्त्य गर्ने चेतावनी गत अप्रिलमा सोल र वासिङगटनले दिएका थिए ।

    योनहाप समाचार समाचार समितिले स्रोतलाई उदृत गर्दै प्रकाशन गरेको समाचारमा उक्त सम्मेलन वासिङ्गटन नजिकैको क्याम्प डेभिडमा अगस्ट १८ मा हुने जनाइएको छ ।

    गत मङ्गलबार आणविक हतियारयुक्त एक अमेरिकी पनडुब्बी बुसानको बन्दरगाहतर्फ गएको थियो । सन् १९८१ पछि पहिलोपटक अमेरिकी पनडुब्बी बुसान बन्दरगाहतिर गएको हो ।

    प्योङयाङले गत साता लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । ठोस इन्धनबाट सञ्चालन हुने लामो दूरीको उक्त क्षेप्यास्त्र अमेरिकासम्म प्रहार गर्ने क्षमताको भएको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend