काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी कमिसनको पछाडि नलाग्ने भएकाले छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।
अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार गरेर एमालेमाथि आरोप लगाएर स्यालहुइँया मच्चाइएको आरोप लगाए । उनले भने, ‘अहिले चिया बगानको कुरा उठाइरहेका छन्, छानबिन गर न ! बिनाकानुन ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको छानबिन गर, त्यसपछि ६० सालमा कमिसन खाएर ५१ बिघा जग्गा बेच्न दिएको छानबिन गर जेल जाऊ ।’
ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे । आफूमाथि अनेक आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले ओम्नी भनेको आफूले पत्रिका पढेर थाहा पाएको बताए।
उनले भने,’ओम्नी भनेको मैले पत्रिकामा पढेको हो। अहिलेसम्म देखेको छैन । गर छानबिन । भ्रष्टहरूले हामीलाई उल्टै थर्काउने ?’आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भएपनि अहिले आफैं त्यसमा फसिरहेको उनले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend