logo

२०८३ असोज ८ बिहिबार

मोहम्मद युनुसमाथिको न्यायिक उत्पीडन रोक्न बंगलादेशलाई विश्व समुदायको आग्रह

मोहम्मद युनुसमाथिको न्यायिक उत्पीडन रोक्न बंगलादेशलाई विश्व समुदायको आग्रह


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 897
    SHARES

    विश्वका १७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको उत्पीडन रोक्न बाङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका छन् ।

    अन्तर्राष्ट्रिय स्तरमा ‘गरिबका लागि ब्याङ्कर’ का रूपमा परिचित प्राध्यापक युनुसमाथि कानुनी उपचार खोजिएको छ। पछिल्ला केही सातायता उनीविरुद्ध अनेकौँ मुद्दाहरू दायर भएका छन् ।

    ‘यो लोकतन्त्रमाथिको प्रहार हो,’ सार्वजनिक गरिएको खुला पत्रमा लेखिएको छ । प्रधानमन्त्री हसिनाले अन्तर्राष्ट्रिय अपीलका लागि ८३ वर्षीय वृद्ध युनुसले भीख मागेको आरोप लगाउँदै कठोर प्रतिक्रिया दिएकी छन् ।

    उनले प्राध्यापक युनुसविरुद्ध चलिरहेका कानुनी मुद्दाहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई स्वागत गरेको समेत बताइन् । अधिकांश पश्चिमा समाजले प्राध्यापक युनुसलाई उनको सूक्ष्म कर्जाजस्ता अग्रगामी कार्यका लागि प्रशंसा गर्छन्। यद्यपि हसिनाले भने उनलाई सार्वजनिक दुस्मनको रूपमा हेर्छिन् ।

    उनले बारम्बार प्राध्यापक युनुसलाई गरिबहरूको ‘रगत चुस्ने व्यक्ति’को सङ्ज्ञा दिँदै उनको ग्रामीण बैंकले चर्को ब्याज लिएको आरोप लगाउँदै आएकी छन् । सन् १९८३ मा प्राध्यापक युनुसले स्थापना गरेको उक्त बैंकले गरिब जनताहरूलाई आफ्नै साना व्यवसायहरू सुरु गर्न प्रेरित गर्छ। त्यसका लागि उनीहरूलाई सानो तथा दीर्घकालीन ऋण प्रदान गर्छ।

    त्यस सुरुवातपछि यस अवधारणाले विश्वभरि नै गति लिइसकेको छ। सन् २००६ मा प्राध्यापक युनुस र उनको बैंकलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    उक्त पत्रमा प्राध्यापक युनुसमाथिको ‘निरन्तर न्यायिक उत्पीडन’ रोक्न आग्रह गरिएको छ। त्यसमा ऐक्यबद्धता जनाउँदै पूर्व अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टन, भर्जिन ग्रुपका संस्थापक रिचर्ड ब्रान्सन र चर्चित ब्यान्ड यू २ का शीर्ष गायक बोनोलगायतले हस्ताक्षर गरेका छन् ।

    गत साता युनुसले स्थापना गरेको अर्को कम्पनी ग्रामीण टेलिकमका १८ जना पूर्व कर्मचारीहरूले उनीविरुद्ध काम गरेबापत प्राप्त हुने सेवा सुविधाबाट आफूलाई वञ्चित गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

    छुट्टै घटनाक्रममा अगस्ट २२ का दिन उनी श्रम कानुनको कथित उलङ्घन गरेको मुद्दामा बयान दिन पुगेका थिए । यी घटनाहरू बाङ्गलादेशको आम निर्वाचन हुनुभन्दा ठीक चार महिनाअघि र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि बढ्दो मागका बीच अगाडि आएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend