logo

२०८३ असोज ८ बिहिबार

अर्थतन्त्रले लय समात्नेमा अर्थमन्त्री विश्वस्त

अर्थतन्त्रले लय समात्नेमा अर्थमन्त्री विश्वस्त


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.4K
    SHARES

    काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । यो सडक हाल ६ लेनमा विस्तार भइरहेको छ ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई शुक्रबार धुलिखेलमा सम्बोधन गर्दै उनले भने, ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन ।’

    तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटर सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

    यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चीनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रे र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताए ।

    उनले भने, ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ ।’

    मन्त्री महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।’

    उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइको बताए ।

    मन्त्री महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए ।

    यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे । कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आर्थिक वर्ष २०८०र८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend