काठमाडौँ । सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् ।
उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् ।
सरकारले ध्यान नदिनु नै ठूलो गल्ति भएको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको भन्दै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताइन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend