logo

२०८३ कार्तिक १२ बुधबार

कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा

कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.7K
    SHARES

    कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।

    ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे । सो अवसरमा उनले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।

    यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिए । उनले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए ।

    कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend